“बदलिदो अवस्थामा खेलकुदको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,असोज २७।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजन र जिल्ला खेलकुद कर्मचारी संघको आयोजनामा “बदलिदो अवस्थामा खेलकुदको भूमिका” बिषयक अन्तरक्रिया तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति काठमाडौं को कार्यालयमा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसव कुमार बिस्ट प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख शिव बैध ,काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्वराज न्यौपाने रहेका थिए ।
कार्यक्रममा बोल्दै सदस्य सचिव बिस्टले अहिले विविध खेलकुदका गतिविधि भै रहेको तर पनि सोचे अनुरुप काम गर्न नसकेको बताए । आगामी दिनमा अझ धेरै गतिविधि गर्ने र खेलाडीको हक हितमा केहि काम गर्ने उनले बताएका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर शाक्यले खेलकुदको विकासमा महा नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए । योजना र कार्यक्रम लिएर आए जुन सुकै किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रमका अर्का वक्ता शिव बैधले नगरपालिका कप जस्तै अन्य विभिन्न गतिविधिमा साथ र सहयोग रहने प्रतिवाद्दत्ता व्यक्त गरेका थिए । खेलकुदका पूर्वाधार निर्माण गर्न अहिले उचित स्थानको खोजि गरिरहेको उनको भनाइ थियो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्व राज न्यौपाने ले काठमाडौं जिल्लाको खेलकुदमा रहेका समस्याहरुको वारेमा जानकारी गराएका थिए । गतिविधि ,खेलाडीको अधिकार स्थापना र पूर्वाधार निर्माणमा उनको जोड रहेको थियो ।
कार्यक्रमको अध्यक्षता चोक बहादुर थापाले गरेका थिए ।