मनाङमा जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

कपन अनलाइन 

लमजुङ, २३ असोज।

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । लमजुङ सदरमुकाम बेशीशहर बाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिपमा  चालक सहित १२ जना सवार जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिका अन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको छ । गम्भीर घाइते बेरिडलाई उपचारको लागि बेँसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका छन्।   दुर्घटनामा अन्य दुई नेपाली सहित नौ जना विदेशी पर्यटक सामान्य घाइते भएका ताल  प्रहरी चौकीका प्रमुख एवं  प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीले जानकारी  दिएका छन् ।

सामान्य घाइते एक नेपालीलाई लमजुङ अस्पतालमा उपचार गरिएको छ भने अन्यलाई हेलीकप्टरमार्फत काठमाडौँ लाने तयारी गरिएको छ । जिप बेँसीशहरबाट पर्यटक लिएर तालसम्मको लागि नै गएको बुझिएकोे छ । बेँसीशहर–चामे सडकखण्डबाट तालतर्फ जाने घुम्तीमा उक्त जिप दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।