पारस खड्काको नेतृत्वमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा
३० चैत, काठमाडौ । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि पारस खड्काको नेतृत्वमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
आज घोषणा गरिएको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, सरद भेष्वाकर, अमृत भट्टराई, बसन्त रेग्मी, सञ्जम रेग्मी, बिनोद भण्डारी, प्रदीप ऐरे, अनिल मण्डल, पृथु बास्कोटा, सुवास खकुरेल, चन्द्र साउद, शक्ति गौचन, राहुल विश्वकर्मा रहेका छन् । एसीसी ट्वान्टी-२० कपमा टोलीमा परेका सागर पुनलाई हटाएर उनको स्थानमा राहुल विश्वकर्मालाई ल्याइएको छ भने नरेश बुढाएर, जितेन्द्रकुमार मुखिया, रामनरेश गिरी र सागर पुनलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।
नेपालले आगामी बैशाख १३ गतेबाट सुरू हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा भाग लिनेछ । नेपालले डिभीजन २ मा पुग्नका लागि डिभीजन थ्रिमा रहेका बर्मुडा, ओमान, इटाली, युगान्डा र अमेरिकासँग प्रतिष्पर्धा गर्नेछ । लिगको विजेता र उपविजेताले डिभीजन २ मा स्थान बनाउने छन् भने अंक तालिकामा अन्तिम दुई स्थानमा रहने टोलीहरू डिभीजन ४ मा झर्ने छन् ।
नेपाली टोली बर्मुडामा हुने डिभिजन थ्रीको तयारीका लागि अभ्यास खेल खेल्न भारतको जयपुर जाने भएको छ । नेपाली टोली शनिबार दिल्ली जानेछ भने वैशाख ७ गते स्वदेश र्फकनेछ ।