कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का कार्यक्रम तथा योजनाहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का कार्यक्रम तथा योजनाहरु

कपन अनलाइन

काठमाडौ,श्रावण ४।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का सहायक बाटोहरु मर्मत र सुधार गरी ती बाटामा वस संचालन गर्ने मुख्य योजना रहेको वडा नं ३ का अध्यक्ष राममणी पुडासैनीले बताए ।

वडाको अर्को योजनामा जेष्ठ नागरिकहरुका लागी विविध सेवा सहितको दिवा सेवा केन्द्र संचालन गर्ने रहेको छ ।उक्त सेवा केन्द्रमा कर्मचारी समेत व्यवस्थापन गरी रचनात्मक र सृजनशील गतिविधि संचालन गरिने वडाले जनाएको छ । यसको संचालनका लागी वडा र सहभागीबाट केहि सहयोग संकलन  गरी निरन्तरता दिने सोचमा रहेको अध्यक्ष पुडासैनीले बताए ।

वडाको अर्को महत्वपूर्ण योजनामा सार्वजनिक जग्गा संरक्षण रहेकोले त्यस्ता  जग्गाहरुको अभिलेख संकलन गरी संरक्षणका लागी तारवार गर्ने तयारीमा वडा नं ३ रहेको छ ।

महिला लक्षित कार्यक्रम तर्फ शिपमुलक र रोजगार मुलक तालिम र परियोजना संचालन गर्ने योजना बनाएको वडाले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन कृषि खेतीका लागी टनेल र केहि थान पाइप वितरण गरी प्रेरित गर्ने अध्यक्ष पुडासैनीको सोच रहेको  छ ।

वडाको सहिद पार्कको सहायक पार्कमा विविध रोजगार मुलक गतिविधि संचालन गरिने वडा नं ३ ले जनाएको छ ।वडामा तत्काल सूचना  प्रविधि युक्त आधुनिक पुस्तकालय स्थापना गर्नुका साथै वडाका सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागी विद्यालय व्यवस्थापन समिति संग छलफल गरी योजना बनाउने योजनमा वडा रहेको छ । सार्वजनिक विद्यालयका बिज्ञान प्रयोगशाला औपचारिक मात्र बनेकोले तिनको अवस्था सुधार गरी उचित सुविधा सहित संचालन गर्न विद्यालयलाई सहयोग उपलब्ध गराउने योजना  वडाले बनाएको छ ।

यस वडाको अर्को योजनामा मनीचुड देखि शिवपुरी सम्म पर्यटन पूर्वाधार विकास गरी होमस्टे संचालन गर्ने रहेको छ भने कृषि योग्य खाली जग्गामा नगदेवाली जस्तै अम्रिसो ,बेसार आदि लगाउन किसानलाई तालिम र परामर्श दिने रहेको छ ।

युवाहरुलाई दुर्व्यसन मुक्त गराउन अध्ययन केन्द्रको स्थापना गर्ने र महिलाहरुलाई कपडाको झोला बनाउने तालिम प्रदान गरिसकेकोले अव वडालाई प्लास्टिक मुक्त घोषणा गर्ने तयारीमा वडा नं ३ रहेको छ ।

खानेपानीको समस्या समाधानको लागी सरोकारवाला पक्ष संग छलफल गरेर योजना बनाउने अध्यक्ष पुडासैनीले कपन अनलाइनलाई बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।