वितरक भन्छन्-‘म यस्तो गीत गाउँछु’को ओपनिङ बम्पर’
कपन अनलाइन
लामो समयपछि नेपाली चलचित्र हेर्न हलमा दर्शकको भीड देखिएको छ । नेपाली चलचित्रको व्यापारमा खडेरी लागिरहेको समयमा आजबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले सुखद ओपनिङ गरेको छ ।
काठमाण्डौमा चलचित्रको वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थले भने-‘यो बम्पर ओपनिङ हो । गोपिकृष्णमा कृष्णमा लागेको चलचित्र २ बजेको शोबाट गोपीका सारिएको छ । हिन्दी चलचित्र ‘जग्गा जासुस’लाई नेपाली चलचित्रले विस्थापित गरेको छ । मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको ओपनिङ बम्पर हो ।’ उनका अनुसार, अष्टनारायण हलमा पनि चलचित्र २ वटा पर्दामा चलिरहेको छ । काठमाण्डौका मल्टिप्लेक्सले दिएका शो सबै हाउसफूल छ ।
काठमाण्डौको क्यूफक्समा चलचित्रको मर्निङ शोमा ८० प्रतिशतको अकुपेन्सी रहेको छ । ‘कुमारी, जय नेपाल, सिभिल र लबिममा ८० प्रतिशत अकुपेन्सी छ ।
यस्तै, काठमाण्डौ बाहिर पनि चलचित्रले बम्पर ओपनिङ गरेको वितरक मनोज राठीले बताए । उनले भने-‘पोखरामा १२ बजेको शोमा डेढ लाख, वुटवलमा १ लाख र चितवनको जलमा हलमा पनि व्यापार राम्रो छ ।’
दर्शकले चलचित्रको बिषयमा सुखद प्रतिक्रिया दिएकाले आइतबार काठमाण्डौ बाहिर थुप्रै हल बढ्ने वितरक राठी बताउँछन् । निर्माता तथा निर्देशक सुदर्शन थापाले भने-‘शुक्रबारको व्यापारबाट अत्यन्तै उत्साहित छु । चलचित्र लामो समयसम्म चल्छ भन्ने लागेको छ ।’
नायिका पूजा शर्माले पनि जय नेपाल, अष्टनारायण लगायतका हलमा पुगेर दर्शकसँग बसेर चलचित्र हेरिन् । उनले दर्शकले दिएको मायाले अत्यन्तै उत्साहित भएको बताइन् ।
चलचित्र ‘छक्का पन्जा’ पछि सिंगल र मल्टिप्लेक्समा ‘म यस्तो गीत गाउँछु’ चल्ने देखिएको वितरकहरुले बताएका छन् । लामो समयपछि चलचित्र हेर्न हलमा दर्शकको उत्साहजनक उपस्थिती देखिएको छ ।