पर्यटन विकासका लागि सडक सुधार गर्नुपर्नेमा जोड

कपन अनलाइन 

(वासुदेव पौडेल)

लाटागुडी (भारत), २९ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत आइतबार भारतको लाटागुडीमा आयोजित अन्तक्र्रियामा भारतका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय विकासका लागि अव्यवस्थित सडक तत्काल सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा भारतीय पर्यटन व्यवसायीले नेपाल प्रवेश गर्ने सीमानाकादेखि नै देखिने अव्यस्थित तथा बिग्रिएका सडककका कारण पर्यटकले निकै दुःख भोग्नुपरेको बताए ।

उक्त अवसरमा नेपालको प्राकृतिक सौन्दर्य र जैविक विविधताको संरक्षणबाट नै पर्यटन विकास गर्न सकिने सम्भाव्यता औँल्याइएको थियो ।

कार्यक्रममा लाटागुडी रिसोर्ट एसोसिएसन, भारतका अध्यक्ष बरुण सरकारले काँकडभित्तादेखि नै पर्यटकले सडकको दूरावस्थाका कारण समस्या भोग्नुपरेको अवस्थाप्रति गम्भीर बन्नु आवश्यक भएको बताउनुभयो ।

एसोसिएसनका महासचिव दीव्येन्द्र देवले अव्यस्थित सडक तथा बाटोमा पर्यटकले भोग्ने गरेका अनावश्यक झन्झटका कारण चाहेर पनि अपेक्षित पर्यटक नेपाल पठाउन नसकिएको उल्लेख गर्नुभयो ।

“पर्यापर्यटनको संरक्षण र विकासका माध्यमबाट नेपालमा पर्यटन क्षेत्रको विकास गर्र्ने धेरै सम्भावना छन्,” उहाँले भन्नुभयो, “लाटागुडीजस्तै नेपालमा चितवन, पोखरालगायतका स्थान पर्यापर्यटनका सम्भावना बोकेका स्थल हुन् ।”

नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले लाटागुडीले पर्यापर्यटनकै माध्यमबाट गरेको पर्यटन विकास नेपालका चितवनलगायतका स्थानका लागि अनुकरणीय बन्न सक्ने धारणा राख्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले नेपाल पर्यटनका दृष्टिले विविध सम्भावनाले युक्त राष्ट्र भएको बताउँदै यहाँको पर्यटनको विकासका लागि उत्तरपूर्वी भारतसहित भारतका विभिन्न ठाउँका पर्यटन व्यवसायीसँग साझेदारी गर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले भारतीय पर्यटन व्यवसायीले नेपालका सडकको दूरावस्थालगायतका विषयमा देखाएको चासो अत्यन्त गम्भीर विषय भएको बताउँदै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।

“नेपालमा प्रकृति प्रदत्त विभिन्न सम्पदा पूर्वाधार विकासको अभावका कारण ओझेलमा परेका छन्,” उहाँले भन्नुभयो, “सडकका कारण नै पर्यटकको आगमनका कमी आएकाजस्ता कुरालाई गम्भीरताका साथ आत्मसात् गरी तत्काल सडक पूर्वाधारलाई व्यवस्थित गरिनु आवश्यक छ ।”

भारतको लाटागुडी पर्यापर्यटनलाई नै मुख्य आधार बनाइएको यहाँको एउटा महत्वपूर्ण पर्यटकीय स्थल हो । विभिन्न सुविधा सम्पन्न होटल रहेको यस स्थलमा जङ्गल सफारी आदि उद्देश्यका साथ पर्यटक आउने गरेका छन् ।

लाटागुडीभन्दा अझै धेरै सम्भावना बोकेर पनि चितवनलगायतका नेपालका पर्यापर्यटनका उत्कृष्ट स्थलमा अझै अपेक्षित सङ्ख्यामा पर्यटक पठाउन नसकिएको तथ्यमा सबैको ध्यान जानु आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत भारतको ग्याङ्टोकलगायतका स्थानका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिसँग छलफल कार्यक्रम रहेको आयोजकले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।