‘लीलाध्वज स्रष्टा सम्मान’ साकार र श्रेष्ठलाई
कपन अनलाइन
काठमाडौँ, १४ जेठ । यस वर्षको ‘लीलाध्वज स्रष्टा सम्मान’ साहित्यकार शैलेन्द्र साकार र जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेपाली साहित्यमा कथा तथा कविता लेखनमा विशिष्ट योगदान गरेबापत उहाँहरुलाई सम्मान गरिएको हो ।
लीलाध्वज स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा आख्यानकार गीताकेशरीले लीलाध्वज थापा राम्रो कथाकार भएको बताउँदै नेपाली भाषा तथा साहित्यलाई विश्व परिवेशमा पु¥याउनका लागि उत्कृष्ट साहित्यको रचना गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वसचिव देवराज रेग्मीले स्रष्टाले विभिन्न रचनाका माध्यमबाट समाजको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्य तथा वाङ्मयको विकासमा लीलाध्वजका रचना महत्वपूर्ण रहेको बताउँदै उहाँको स्मृतिमा स्रष्टालाइ सम्मान गर्ने नीति रहेको जानकारी गराउनुभयो । सो अवसरमा विभिन्न कविले गरेको कविता वाचन गर्नुभएको थियो । सो अवसरमा प्रदीप घिमिरे, कल्पना काफ्ले र सुशीला पौडेललाई पनि सम्मान गरिएको थियो । रासस