मत्स्यपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो

कपन अनलाइन 

रामपुर (पाल्पा), ४ जेठ । पाल्पामा व्यावसायिक रुपमा मत्स्यपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । परम्परागत शैलीमा मत्स्यपालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कृषक व्यावसायिक मस्यपालनतर्फ आकर्र्षित भएका हुन् ।
हावापानी, भौगोलिक भूबनोटका दृष्टिकोणबाट पाल्पा पहाडी जिल्ला भए पनि घरायसी प्रयोजनका लागि मात्र ससाना पोखरीमा माछापालन गरेका कृषकलाई व्यावसायिक सफलता गराउने उद्देश्यले आव २०७०÷७१ देखि कार्यालयले मत्स्यपालन कार्यक्रममार्फत सहयोग गर्दैआएको छ ।

कार्यालयले कृषकलाई अनुदान रकम, मत्स्यपालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री र प्राविधिक सहयोग गरेपछि कृषकको हौसला बढेको छ । जिल्लाको तानसेन नगरपालिका, रामपुर नगरपालिका, अर्गली, बन्दीपोखरा, हुँगी, कसेनी, दोभान, सोमादीलगायत क्षेत्रमा कृषकले व्यावसायिक रुपमा मत्स्यपालन गर्दै आएका छन् ।

अन्य पेसा तथा व्यवसायका तुलनामा मत्स्यपालनबाट मनग्य आम्दानी गर्न सफल भएको र उत्पादित वस्तु बिक्री गर्न बजार सहज भएपछि मत्स्यपालन व्यवसायमा कृषक आकर्षित हँुदै गएको मत्स्यपालन व्यवसायी सङ्घका जिल्ला अध्यक्ष महेश्वर पन्त बताउनुहुन्छ । एउटा कृषकले वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ ।

कृषकले सिल्भर, विगहेड, कमन, रहु, ग्रास कार्प जातका माछा पाल्ने गरेका छन् । सिमसार क्षेत्रमा बालीको उत्पादनसँगै मत्स्यपालन गरी पर्याप्त आम्दानी गर्न सफल भएका छन् । कृषि विकास कार्यालयले चालु आवमा साना पोखरी निर्माणका लागि ३० जना कृषकलाई अनुदान रकम, दुईजनालाई ५० प्रतिशत अनुदानमा एरियटर मेसिन खरिदका लागि अनुदान सहयोग, पाँचजना कृषकलाई माछा समात्ने जाल सहयोग गरेको कार्यालयका योजना शाखाका प्राविधिक ज्ञानकुमार यादवले जानकारी दिनुभयो ।

यस्तै मत्स्यपालनलाई व्यवसायीकरण गर्नका लागि जिल्लाका विभिन्न स्थानमा घुम्ती तालिमसमेत सञ्चालन गरिरहेको छ । जिल्लामा हालसम्म १५३ जना कृषक व्यावसायिक रुपमा मत्स्यपालनमा लागेका छन् । वार्षिकरुपमा ३० देखि ३५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । मत्स्यपालन व्यवसायका लागि माछा पोखरीमा प्रयोग हुने चुन र माछालाई आवश्यक पर्ने प्रोटिनयुक्त दाना निःशुल्क रुपमा कृषकलाई उपलब्ध गराएको छ । रासस

तपाइँको प्रतिक्रिया ।