१२.१२.१२ ऐतिहासिक एवम् मंगलकारी
शुभ दिन शुभ कार्य गर्ने अवसर
कपन अनलाइनऐतिहासिक क्षणमा सबैले केही नयाँ गरेर आफू, परिवार तथा समाजलाई यादगार बनाउन खोज्छन् । भोलि मंसिर २७ गते अंग्रेजी तारिख अनुसार १२ गते, १२ महिना र १२ साल भएकोले भोलिको दिनलाई विश्वभरी अत्यन्त महत्वका साथ हेरिएको छ । भोलि दिनको १२ बजेर १२ मिनेट जाँदा वर्ष, महिना, तिथि, घण्टा, मिनेट एउटै अंकमा आउने भएकोले ज्योतिष शास्त्र एवम् दर्शनले पनि यसलाई महत्वपूर्ण योग भनेको छ । यो योग एवम् अवसरलाई सकभर राम्रो कार्यमा समाहित गर्न विश्वभरका मानिस नयाँनयाँ योजना बनाइरहेका छन् ।
विभिन्न योगहरुको साथ सय वर्षपछि आएको यो अवसर अत्यन्त दूर्लभ अवसर हो । यसलाई पूर्वीय तथा पश्चिमी सबैले दुर्लभ अवसरको रुपमा अपयोग गर्ने योजना बनाइरहेका छन् । धेरैले भोलिको दिनलाई कुनै न कुनै शुभकार्यमा समर्पण गर्ने योजना बनाएका छन् । ज्योतिष विज्ञानका अनुसार १२ डिसेम्बर २०१२ बुधबारका दिन अनुराधा नक्षत्र, धृति योग, विषकुंभक करण एवम् चन्द्रमा वृश्चिक राशीमा रहेको छ । यो सबै मांगलिक कार्यका लागि उपयुक्त मानिन्छ । भोलि कुनै वैवाहिक मुहुर्त नभए पनि मंगलकार्यका लागि यो शताब्दिको अति उत्तम दिनमध्ये एक हो । भोलिको दिन मार्ग कृष्ण चतुर्दशी पनि भएकोले धार्मिकरुपमा हामी नेपालीमा महत्वको अवसर पनि हो ।
राशिका अनुसार भोलिको दिन मिश्रित फलदायी भए पनि यो सबैलाई राम्रो कार्य गर्नका लागि उपयुक्त अवसर मानिन्छ । राशिफलका अनुसार मेष, वृष, कर्कट, तुला, धनुृ, मकर र मिथुनलाई भोलिका दिन अत्यन्त राम्रो मानिएको छ भने सिंह, कन्या, वृश्चिक एवम् मिनका लागि यो त्यति राम्रो छैन ।