नालामा डुबेर एक बालकको मृत्यु
कपन अनलाइन
बनियानी (झापा), १६ चैत । परीक्षा दिएर घर फर्किँदै गरेका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर–१० का १० वर्षीय कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, सोही नालामा डुबेका ७ वर्षीय समिर बजगाईं भने सकुशल रहेका छन् ।
भद्रपुर–१० स्थित नमुनाटोल नजिकैको चारआली–केचना सडक निर्माणको लागि खनिएको नालामा मङ्गलबार दिउँसो दुवै बालक डुबेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
नालामा डुबेको स्थानीयले देखपछि दुवैजनालाई उद्धार गरिएपनि निरौलाको उपचारका क्रममा बी एण्ड सी अस्पताल, बिर्तामोडमा मुत्यु भएको हो ।
नालामा डुबेका बजगार्इं भने ओमसाई पाथिभरा हस्पिटल, भद्रपुरमा उपचारपछि घर फर्किसकेका छन् । विदुर बोर्डिङ स्कूल भद्रपुरमा अध्ययनरत निरौला कक्षा–३ र बजगाईं युकेजीको परीक्षा दिएर घर फर्किएका थिए ।
यता, ठेकेदारले साढे एक फुट नाला खन्नु पर्नेमा नियम मिच्दै ५ देखि १० फुटसम्म नाला खनेर छाडेपछि दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । नाला खनेर छाडिएपछि जमेको पानीको निकास समेत बन्द भएको छ । सोही पानीमा दुई बालक डुबेका हुन् । रासस