भंगालको कालिका चौरमा बन्यो सबैलाई मोहित पार्ने सुन्दर बस्ती(फोटो फिचरसहित)

कपन अनलाइन, काठमाडौँ । 
बुनपा वडा २ कालिका चौरमा एक सुन्दर बस्ती बनेको छ । सुकम्बासीलाई लागि बनेको यो बस्ती बुनपाकै सम्भवतः सुन्दर बस्ती देखिएको छ । भंगालमा रहेको ठूलो सार्वजनिक जग्गामा ०३५ सालदेखि केही सुकुम्बासीहरु बसोबास गर्दै आएका थिए । यिनै सुकुम्बासीहरुलाई एक सुन्दर बस्ती बनाएर हस्तान्तरण गरिएको छ । बुनपामा राजनीतिक तथा सामाजिक कार्यकर्ता सुन्दर पुर्कुटीको नेतृत्वमा बनेको कालिका चौर संरक्षण तथा व्यवस्थापन समितिले १२ वटा सुन्दर घर निर्माण गरेर १२ सुकम्बासी परिवारलाई घर हस्तान्तरण गरेको हो ।

 
देख्दैमा लोभलाग्दो १२ वटा घरलाई आज सुन्दर पुर्कुटीको टिमले सम्बन्धित सबैलाई घरको साँचो हस्तान्तरण गर्यो । पत्रपत्रिका-खबरहरूमा आएको सिजि ग्रुपले वा धुर्मुस र सुन्तलीले बनाएको घरहरूको  भन्दा उत्कृष्ट हिसाबका भुकम्परहित १२ वटा घरदेख्दा जो कोही लोभिन्छन् । पुर्कुटीसहितको सर्वदलीय समितिले बुढानिलकण्ठ नगरपालिकासहित सुकुम्बासीसँग सम्बन्धित धेरै संस्थाहरुसँग समन्वय गरेर यो बस्ती बसाउने व्यवस्था गरेका हुन् । सुरुमा यो प्रयासलाई कसैलाई पनि सकारात्मक लिन सकेनन् । धेरैले यो कुरालाई हावा उडाए भने कतिले यो काम रोक्ने प्रयाससमेत गरे । कार्यक्रमको अध्यक्षता गरिरहेका सुन्दर पुर्कुटीले उपस्थित करिब डेढसय सरोकारवालाहरुलाई आफूहरूले भोगेको अनूभूति सुनाए ।
कार्यक्रममा सरोकारवाला सुकुम्बासी संस्थाका बिभिन्न व्यक्तिहरुसहित बुनपाबाट राजनीतिक गर्ने दलहरुका प्रतिनिधिहरु उपस्थित थिए । सबैले सुकुम्बासी हकहितका कुरा गरे । बस्ती बसाउन गरिएका  मेहनतकासाथै दुखका कुराहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा बुनपाका राजनीतिक दलका प्रतिनिधिहरु भोला लामिछाने, उद्धव खरेल, बिदुरविक्रम खड्का तथा पुरुषोत्तम कोइरालालगायत एक दर्जन व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

 
कालिका चौरमा बाटो, ढल, पानी र बिजुलीको व्यवस्थासमेतका १२ वटा घरहरु रहेका छन् । हरेक घरमा २ वटा बेडरुम, एक भान्सा र १ शौचालय रहेको छ । हरेक घर निर्माणका लागि करिब ६ लाख खर्च गरिएको छ । सबै घर एकै किसिमले बनेको छ । यी घरहरुमा १० परिवार दलित र २ परिवार क्षेत्री समुदायका व्यक्ति बसोबास गर्नेछन् । कालिका चौरसँगै रहेको करिब १५ रोपनी सार्वजनिक जग्गामा पार्क तथा स्विमिङ पुलको अबधारणामा काम शुर गरेको छ सुन्दर पुर्कुटीको व्यवस्थापन समितिले ।

फोटोहरू: आशिष गुरागाइँ

तपाइँको प्रतिक्रिया ।