गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

कपन अनलाइन 

रोल्पा, ४ चैत । गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा आजै बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए । कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२÷१५ जनाको समूहले उनीहरुलाई अगाडि बढ्न नदिएपछि दुई पक्षबीच भनाभन भई असहज स्थीति सिर्जना भएको स्थानीयवासीले बताएका छन् ।

बाटो कुरेर बसेका स्थानीयवासीले अगाडि नबढ्न चेतावनी दिएका कारण आफूहरु कार्यक्रमस्थल जान नसकेपछि प्रहरीलाई खबर गरी सुरक्षासहित इलाका प्रहरी कार्यालय होलेरीमा आएको कार्यकारी अधिकृत कम्मन गिरीले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र ‘जुगार की त्रिवेणी’ भन्ने विषयमा लामो समयदेखि विवाद रहेको सो स्थानमा आयोगले पछिल्लो पटक जुगारमा केन्द्र निर्धारण गरेपछि त्रिवेणी पक्षधर आक्रोसित भएकाले सो घटना घटेको बताइएको छ ।

असन्तुष्टको विरोधका बाबजुद औपचारिक कार्यक्रमसहित उद्घाटन नभए पनि अन्य काम भने आजैबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले जानकारी दिनुभयो ।

सुरुमा असामान्य अवस्था जस्तो देखिए पनि अहिले भने सुरक्षाकर्मीले अवस्था सामान्य बनाइसकेका छन्, प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो — अहिले तिनैजना इलाका प्रहरी कार्यालयको सुरक्षामा छन् । रासस

तपाइँको प्रतिक्रिया ।