गणेश कोइरालाले फेशबुकबाटै बुनपा मेयर उम्मेदवार भनेर घोषणा गरे
कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट काठमाडौँ क्षेत्र नं. ४ मा देखिएको आन्तरिक असन्तुष्टि अझै साम्य हुन सकेको छैन । केही दिन अघि क्षेत्रीय सभापति राजु श्रेष्ठले आफ्नो कुनै असहमति कसैसँग नरहेको बताए पनि यथार्थमा त्यो देखिन सकेको छैन ।
सरकारले स्थानीय निकाय चुनाव घोषणा गरेपछि बुनपाभित्रका नेका नेताहरुभित्र मेयर उपमेयर वा वडाध्यक्ष हुन्छु भन्नेहरुको भीड बढ्दो छ । २० वर्षअघि भएको स्थानीय निकाय निर्वाचनपछि उदाएका र त्यहीबेलाका धेरै आंकाक्षीहरु यतिखेर छरप्रष्टरुपमा पद भोकको लालसमा होमिएको देखिएको छ ।
काठमाडौ क्षेत्र नं. ४ मा नेकाभित्र कुन गुटको वर्चश्व रहने विषयमा रातोपुल बस्ने गगन थापा र चाक्सीबारी बस्ने प्रकाशमान सिंहबीचको प्रतिष्पर्धामा संगठनमा दीर्घकालिन असर पर्दै गएको अनुभूति सबैले गरेका छन् । स्थानीय निकाय निर्वाचनको घोषणापछिका दिनमा उम्मेदवारी घोषणा गर्ने सिलसिलाले यो विषय झनै कठोर बन्दै गएको छ ।
देशकै महत्वपूर्ण बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि भनेर धेरै नामहरु चर्चामा आउने क्रममा रहेको छ । फेशबुकबाट यस नगरपालिकाका नेता गणेश कोइरालाले आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुनपा नगर कमिटिका सभापतिसम्म रहेका कोइरालाले यसरी फेशबुकबाट गरेको घोषणालाई धेरैले क्षणिक आवेश बताएका छन् । तथापि बुनपा नेकाभित्र रहेको राजनीतिक अवस्था हेर्दा अबका दिनमा यस्ता कृयाकलाप अरु नेताहरुबाट क्रमशः आउने देखिएको छ ।
पूर्व क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले फेशबुकमा बैशाख ३१ गते चुनावको मिति लेखेको फोटो र आफ्नो फोटो राखेर पोस्ट गरेका छन् । उनको यो पोस्टमा धेरै उनी पक्षधर व्यक्तिहरुले शुभकामना दिएका छन् भने कतिले बधाईसमेत दिएका छन् । यसअघि बुनपा क्षेत्रभित्र बाटै प्रकाशित हुने एक डिजिटल प्रत्रिकाले गोकर्ण केसी, दामोदर खड्का र विनोद चालिसेको फोटो राखेर सम्भावित मेयर उम्मेदवार भएको व्याख्या गरेको थियो । सो समाचारमा कपनबाट राजनीति गरिरहेको रामकृष्ण केसी, न्हुच्छेनारायण श्रेष्ठ, इन्द्र थापाको नाम पनि मेयरको सूचिमा राखेको थियो ।
उल्लेखित नामसँगै चर्चामा रहेको अर्का व्यक्ति हुन् राजाराम बुढाथोकी । नगरपालिका सहजीकरण समितिमा समेत रहेका बुढाथोकीलाई धेरैले सम्भावित मेयर उम्मेदवार भनेर घोषणा गरेका छन् । यद्यपि बुढाथोकी स्वयम् भने पर्ख हेर जस्तो स्वरुपमा बसेका छन् । कपनका पूराना नेता आत्माराम पौडेलले पनि आफू मेयर पदमा इच्छुक रहेको बताउँदै आएको कुरा चलिरहेको अबस्थामा क्षेत्रीय सभापति राजु श्रेष्ठले कसरी निर्णय गर्लान भन्ने चासो सबैलाई रहेको छ ।
निर्वाचित सांसद गगन थापा र क्षेत्रीय सभापतिबीचको पानी बाराबारको अवस्थालाई बैशाख ३१ गते हुने भनिएको निर्वाचनले एकिकृत गर्ला कि भन्ने आशा राख्नेहरुको संख्या बाक्लै छ । यद्यपि यो निर्वाचनले उनीहरुको सम्बन्ध झनै कमजोर हुने आंकलन पनि हुन थालेको छ ।