निर्वाचनको मितिमा शङ्का नगुहोस् ः मन्त्री महरा
कपन अनलाइन
तिलोत्तमा (रुपन्देही), १० फागुन । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले तोकेको निर्वाचनको मितिमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।
केन्द्रीय अनुगमन टोलीले आज भैरहवामा आयोजना गरेको लुम्बिनी अञ्चलस्तरीय कार्यक्रममा उपप्रधानमन्त्री महराले सरकारले निर्वाचन आयोगदेखि सरोकारबालसँग छलफल गरेर स्थानीय निकायको निर्वाचनको मिति तोकेकाले निर्वाचनप्रति शङ्का नगर्न आग्रह गर्नुभयो ।
लामो समयपछि स्थानीय निकायको निर्वाचन हुन लागेको भन्दै उहाँले कुनै पनि बहानामा निर्वाचन नसर्ने दाबी गर्दै कुनै द्वीविधा नराखी तयारी थाल्न जिल्लास्थित प्रमुखलाई निर्देशन दिनुभयो ।
केन्द्रीय अनुगमन समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव टकङ्मणि शर्माले अहिले पनि विकास निर्माणमा परम्परागत तरिका नै रहेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक, स्थानीय विकास अधिकारी, सडक डिभिजन तथा सिँचाइ कार्यालयका प्रमुखहरुले आफ्नो कार्यालयको प्रगतिबारे जानकारी गराएका थिए । रासस