कपनमा हस्पिटल जानुपर्दैन, औषधी खानु पर्दैन भन्दै धर्मप्रचार
कपन अनलाइन, काठमाडौ/सम्पादकीय/धर्मका नाममा बिभिन्न सामाजिक समस्या हाम्रो देशको यथार्थ हो । धर्म र धार्मिक गतिबिधिका नाममा जे पनि गर्ने र जस्तो पनि सोच्ने मध्ययुगिन संरचना नेपालमा यथावत छ । राजधानीको कपनमा “सच्चाई” भन्ने एक समूहले विगत ३ वर्षदेखि हस्पिटल जानु पर्दैन, औषधी खानुपर्दैन परमेश्वर पिताले सबै कुरा निको पारिदिनु हुन्छ भन्दै धर्म प्रचार गरिरहेको छ ।
कपनको कपनटारस्थित कुनै सूचना बोर्डसमेत नरहेको एक टहरोमा यतिखेर हप्ताको तीन दिन दुखी, गरिब, रोगबाट पिडितहरु एकत्रित हुने गरेका छन् । टहरोको एकापट्टी एउटा सानो फ्लेक्स टाँसिएको छ । फ्लेक्समा एउटा केटाको शरिरबाट पिप बगेको छ र उ ठीक भएको सम्मको फोटो संग्रहित छ । सानो पुलपिट छ र त्यसमा एउटा केटो बाइबल बाकेर बसेको हुन्छ । केही तयार पारिएका पात्रहरु नियमितरुपमा नाटकीय स्वरुपमा आफूलाई यस्तो भएको थियो उस्तो भएको थियो हस्पिटलले उपचार गर्न सकेको थिएन परमेश्वरले कृपाले मलाई ठीक भयो । परमेश्वरको जय होस्, पिता परमेश्वरको जय होस् भने चिच्याउँछन् अनि बाँकीले जोड जोडले ताली बजाउँछन् ।
इश्वरलाई विश्वास गरे सबै रोग निको हुन्छ भनेर चारैतिर अफवाह फैलाउने यो कामको अगुवाई गरेकी छिन् सन्तोषी भट्टराईले । उनी आफै पनि मलाई बीर अस्पतालले ६ महिनाभित्र मर्छेस भनेको थियो अहिले म परमेश्वर पिताको आर्शिर्वादले जीवित भएको कुरा सुनाउँने गर्छिन् ।
उनीहरुको यो नाटकमा यस भेकमात्र नभै परपरबाट बिभिन्न समस्या भएका मानिस एकत्रित भएका छन् र विस्तारै धर्म परिवर्तन र एकधर्मले अर्काे धर्मलाई होच्याउने काम भैरहेको छ ।
नेपाल सरकारका यतिखेरका जल्दाबल्दा मात्र नभै केही महत्वपूर्ण काम गरिरहेका स्वास्थ मन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा हस्पिटल र डाक्टरहरुलाई ठाडो चुनौति दिएर भैरहेको यो धर्मविस्तारको कामप्रति कोही पनि सचेत भएको देखिएन । समाजमा भएका राजनीतिक पार्टी, सामाजिक संघसंस्था, स्थानीय निकाय तथा प्रहरी प्रशासन यो विषय पूर्णतः मौन छन् । कारण यो धार्मिक विषय हो भनेर । के धर्मका नाममा हस्पिटल र डाक्टर चाहिँदैन इश्वरमा विश्वास गर संसारमा भएका सबै रोग निको हुन्छ भन्न पाइन्छ ?
सिंगो मानवजीवनसँगै सरोकार राख्ने यस्तो स्वास्थ्यजस्तो विषयमा भएको धर्मप्रचारले राजधानीजस्तो ठाउँलाई नै दुषित बनाइरहेको छ । बेलैमा सम्बन्धित पक्षको ध्यान जाओस् ।