विदुर विक्रम खड्काले पुर्याएका हुन् कपन गुम्बाको विषयलाई अख्तियारमा
कपन अनलाइन, काठमाडौँ । केही समययता कपन गुम्बाको विषय बुनपाभित्र चर्चा परिचर्चा बनिरहेछ । निकै पूरानो घाउ भए पनि हालै मात्र बल्झिने प्रयासमा रहेको कपन गुम्बा प्र्रकरण आफैमा सजिलो विषय भने हैन । यसै असजिलो विषयमा राजनीति गर्ने दाउमा धेरैजना लागेका छन् भने कतिपय यो विषयबाट चोखिने दाउमा पनि छन् । जनसमान्यले चाहिँ यो विषयको अझै भेउ पाउन सकेको छैन ।
कपन गुम्बाले चर्चिएको जमिनमा स्थानीय महांकाल देवताको मन्दिर र ठूलो क्षेत्रफलको सार्वजनिक जग्गा रहेकोले सो सार्वजनिक सम्पत्ति गुम्बाको अधिनमा हुनुहुँदैन भनेर जनताले चासो राखेका छन् । राजनीतिक दल पनि यो विषयमा जनताको पक्षमा छ । विषय प्रसंग पूरानो भए पनि यो विषय मुद्धाको विषयमा किन ढिलो उठ्यो भन्ने विषय आफैमा गम्भीर पनि छ । केही दिनअघि नाराजुलुससहित सर्वसाधारणले घण्टी जुसुल पनि प्रदर्शन गरेका छन् ।
सार्वजनिक जग्गालाई बिभिन्न तिकडम लगाएर व्यक्तिको नाममा ल्याई गुम्बाले अधिकरण गरेको मात्र नभै परापूर्वकालदेखिको महांकाल मन्दिर जाने बाटो समेत छेक्नुको पछाडि पूर्व गाविस अध्यक्षहरु मिठाराम अधिकारी र आत्माराम पौडेललाई स्थानीयवासीहरुले स्वार्थमा लागेको आरोप लगाउने गरेका छन् । कपनको परिचयसँग जोडिएको कपनगढीसमेत रहेको यो स्थानलाई पूर्व गाविस अध्यक्षहरुले चाहेको भए आफ्नो पालामा नै सुरक्षित गर्न सक्थे भन्ने कुराहरु जोडतोडका साथ उठिरहेको छ ।
कानुनीस्तरमा कपन गुम्बाको विषय यतिखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधिन छ । कपन गुम्बाले सार्वजनिक जग्गालाई बिभिन्न उपाय लगाएर निजीकरण गर्यो भन्ने विषयलाई यसरी अख्तियारसम्म लैजाने व्यक्ति हुन् विदुरविक्रम खड्का । नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिकामा सहजीकरण समिति सदस्य रहेका खड्काकै हस्ताक्षर लेखिएको निवेदन अख्तियारमा विचारधिन अवस्थामा रहेको छ । खड्काको यो प्रयासमा नेकाका राजाराम बुढाथोकी र माओवादी केन्द्रका रविन अधिकारीले साथ दिएका छन् । सम्भवतः आगमी केही महिनामा यो विषय अख्तियारबाट निर्णयमा आउनेछ ।
कडा मिजास, विकास र न्यायका लागि लड्ने छवि बनाएका खड्का अख्तियारबाट कपन गुम्बाको विषयमा सकारात्मक नतिजा आएन भने सर्वोच्च अदालतसम्म पुग्ने सोचमा छन् । आफ्नै पार्टीका साथी तथा पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारीलाई गुम्बाबाट लाभ लिएको आरोप लागेको बेला पार्टीको छवि निबिग्रियोस् भनेर पनि जनताको विषयमा आफू अगाडि बढेको उनले बताए ।
०७३ असारको तेस्रो साताबाट बुनपा सहजीकरण समितिमा आएका विदुरविक्रम खड्कालाई आगामी स्थानीय निकाय निर्वाचनमा एमालेका तर्फबाट मेयर पदका प्रत्यासीकोरुपमा धेरैले अनुमान गरेका छन् ।