सिद्धि–सेतुली स्मृति पुरस्कारबाट खड्का सम्मानित
कपन अनलाइन
पोखरा, ७ माघ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले आज स्व सेतुलीमाया शाक्यको दसौँ वार्षिक पुण्यतिथिका अवसरमा महिला सीप विकास संस्था पोखराकी कार्यकारी निर्देशक रामकली खड्कालाई सिद्धि–सेतुली स्मृति पुरस्कारबाट सम्मान गरेको छ ।
महिला सीप विकासमा अतुलनीय योगदान पु¥याई झण्डै ६०० जना एकल, शारीरिक कमजोर र असहाय महिलालाई रोजगारी दिएकामा उच्च कदर गर्दै रु १० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले पुरस्कृत व्यक्तित्व रामकली खड्कालाई एक कार्यक्रमका बीच सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा पोखराको रानीपौवामा घर भई हाल अमेरिकामा बस्दै आउनुभएकी अपेक्षा श्रेष्ठले पठाउनुभएको रु २० हजार एचआइभी सङ्क्रमित महिला समूह पुरुञ्चौरकी अध्यक्ष लक्ष्मी अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, पुरस्कार संस्थापक विश्वरत्न शाक्य, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, बीलबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस