औषधि अभाव हुन नदिन निर्देशन

औषधि अभाव हुन नदिन निर्देशन

कपन अनलाइन 

बनेपा: स्वास्थ्यमन्त्री गगनकुमार थापाले काभ्रेपलाञ्चोकमा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोक जिल्लाबाट औषधिसम्बन्धी सबैभन्दा बढी उजुरी आएकाले त्यसको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले जिल्लाको कुनै पनि स्वास्थ्य चौकीमा औषधिका बारेमा उजुरी आउन नहुनेमा जोड दिँदै भन्नुभयो, “कुन स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो लेखेर दिनुहोस्, २४ घन्टामा नै औषधिको आपूर्ति गरिने छ ।”

 
मन्त्री थापाले नेपालमा एक शिशुका लागि रु पाँच हजार बराबरको खोप खर्च भएको बताउँदै अझै थप खोप दिन सकिने जानकारी दिनुभयो । सो अवसरमा मन्त्री थापाले पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला र जिल्ला स्वास्थ्य प्रमुख अर्जुन सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।