सामाजिक सहभागिता बढाउँदै कपन संगीत सरोवर, दर्शकको अझै अभाव
कपन अनलाइन
काठमाडौँ: विगत १० वर्षदेखि कपनमा अन्तर्राष्ट्रियस्तरको शास्त्रीय र भक्ति संगीत पस्कँदै आएको कपन संगीत सरोवर दर्शक तथा श्रोताको अभाव महशुस गरिरहेको छ । पूर्वीय भाव संगीतलाई कपनमा मञ्च तयार गरेर प्रस्तुत गर्ने क्रममा स्वदेशी विदेशी वरिष्ठ कलाकारहरुले साधना गरेका उत्कृष्ट प्रस्तुतीहरु हरेक महिनाको अन्तिम शनिवार सुनाइने गरिन्छ ।
१० वर्षदेखि कपन संगीत सरोवरको अगुवाई गरिरहेका विसुकुमार केसी यति महत्वपूर्ण काम यहाँ भैरहँदा पनि माया गर्नेहरुको अभाव खट्किएको बताउँछन् । नेपाली तथा पूर्वीय शास्त्रीय संगीतको यति महत्वपूर्ण कार्यक्रम बगलामुखी मन्दिरमा परिसरमा भैरहँदा दर्शकको उपस्थिति नहुनुलाई संगीतको मर्मप्रति हाम्रो समाज सचेत नबनेको उनले बताए । दोहरी, र्याप र डिस्को संगीतमा मात्र झुम्ने चिच्याउने फेशन बढेकोले शास्त्रीय र भक्ति संगीतप्रति समुदायको चासो हुन नसकेमा केसी चिन्तित छन् ।
हामी विकसित र परिमार्जित हुनु भनेको हामी बौद्धिक र सम्वेदनशील हुनु पनि हो तर संगीत, साहित्यप्रति समुदाय खासै सचेत बन्न नसकेको बताउँदै सामाजिक सहभागितातिर संस्थालाई कसरी लैजाने भन्ने विषयमा चिन्तित रहेको अध्यक्ष केसीले बताए । केसीले केही महिनादेखि नियमित कार्यक्रमलाई यताका सामाजिक संस्थाहरुलाई सहभागि गराउने अभियानमा जुटेको बताएका छन् ।
यो सहभागितालाई समुदायमा संस्थाको कामहरुका बारेमा जानकारी गराउने अभियानको लिएको बताउँदै केसीले पुष महिनाको अन्तिम शनिवार हुने कार्यक्रमलाई बुनपा १८ स्थित कपनगढी बचत तथा ऋण सहकारीले प्रायोजन गर्ने बताए । गत महिनादेखि शुरु भएको यो अभियानमा गत महिना बुनपा १४ को बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले प्रायोजन गरेको थियो ।
अध्यक्ष केसीले कपन अनलाइनलाई भने यो प्रायोजनभन्दा पनि सहभागिता हो । कार्यक्रममा सहभागिता नै महत्वपूर्ण भएको उनले बताए ।