जोरधाराले भागवत लगाउँदाको हिसाब सार्वजनिक गर्न सकेन
रकम हिनामिना भएको सम्भावना
भक्तपुरको छालिङमा धार्मिक पीठ बनाएर कार्य गरिरहेका कमलनयनाचार्यको अगुवाईमा गते साउन महिनामा कपनमा भएको श्रीमद्भागवत्बाट उठेको रकम अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । कपन वडा नं. ३ मा रहेको जोरधारा खानेपानी संरक्षण संस्थालाई भूमिगत ट्यांकी बनाउने हेतुले सञ्चालित सो महायज्ञमा करिब २८ लाख उठेको जानकारी दिइएको थियो ।
यस महायज्ञ शुरु गर्ने बेलादेखि विभिन्न विषयमा गम्भीर विवादहरु उत्पन्न भएका थिए । विशेषगरी कपनमा महायज्ञ लगाएर उठेको पैसा आधा कपनलाई आधा भक्तपुरमा रहेको आश्रमलाई लगाउने विषयमा कपनमा धेरै विवाद उत्पन्न भएको थियो । तर कमलनयनाचार्यले यस भूमिगत पानी ट्यांकी म निर्माण गरिदिन्छु भने पछि कपनमा नै करिब २८ लाख रुपैंया उठेको थियो । तर हालसम्म कमलनयनाचार्यबाट पानी ट्यांकी निर्माणमा कुनै महत्वपूर्ण पहल हुन सकेको देखिएको छैन ।
सानो खर्चमा धेरै पैसा उठाउने लक्ष्य राखेर शुरु गरिएको यो महायज्ञ समापन हुँदासम्म आजसम्म कपन भेकमा गरिएको सबैभन्दा महंगो महायज्ञ भएपछि आयोजक कमिटिले सर्वसाधारण भट्केलान् भनेर आम्दानी तथा खर्च अहिलेसम्म सार्वजनिक नगरेको हो ।
करिब १६ लाख नगद तथा बाँकी वाक्दानमा सिमित भएको यस महायज्ञको खर्च करिब १२ लाख देखिने सम्भावना भएपछि आयोजकहरु आँत्तिएका हुन् । कमलनयानाचार्यबाट आफूले बोले अनुरुपको काम पनि हुन नसक्नु अनि अनावश्यक ठूलो खर्च पनि देखिनुले वाक्दान दिएकाहरु अब पैसा दिने कि नदिने भन्ने बारेमा पनि चिन्तित देखिन्छन् ।
अत्यन्त कमजोर आयोजक समिति निर्माण गर्नु मात्र नभई आयोजक समितिका मूल संयोजक एकदमै कच्चा मानिस भएकोले हालसम्म आर्थिक पारदर्शिता हुन नसकेको हो भन्ने आम जनताको धारणा रहेको छ ।