पुस्तक पढ्ने बानी बसालौं !!

प्रधानमन्त्रिदेखि राष्ट्रपतिसम्म गएर पुस्तक किनेको खबरहरु आइरहँदा हामी कपन अनलाइन मार्फत आफ्ना पाठकहरुलाई पनि यस्ता पुस्तक प्रदर्शनी गएर केही महत्वपूर्ण पूस्तक खरिद गरी आफ्नो चेतनास्तरलाई अझै बलियो बनाउन आग्रह गर्न चाहन्छौं ।

 

“पूरानो कोट लगाउ, नयाँ पुस्तक किन” भन्ने भनाई साना उमेरकादेखि ठूलासम्मका लागि थाहा छ । यद्यपि व्यवहारमा भने कसैले पनि यसो गरिरहेको हुँदैन । अझ पछिल्लो दशक यता पुस्तक पढ्न रुचि राख्नेहरुको संख्या कमजोर हुँदै गएको छ । कसैले पुस्तक किनिहाले पनि त्यो समान्यतया पढ्ने गरिदैन । संचारको प्रचुर उपयोग गर्ने क्रममा इन्टरनेट तथा सामाजिक सञ्जालहरुले हामीलाई पुस्तक पढ्ने बानीबाट टाढा बनाएको छ ।
पढि हाले पनि सस्ता लोकप्रिय भएको पुस्तकमा हामी बरालिएका छौं । गुणस्तरीय पुस्तकतिर पछिल्ला समयका पाठकहरुले ध्यान नदिँदा राम्रा लेखकभन्दा सस्ता लेखकहरु लोकप्रिय बन्दै गैरहेका छन् । विशेषगरी मिडिया क्षेत्रमा काम गर्नेहरुले जस्तो लेखे पनि प्रचारप्रसारका कारण पुस्तक बिक्ने किसिमको अबस्था पनि सिर्जिएको छ ।
तथापि पुस्तक प्रकाशन गृहहरु पछिल्ला केही वर्षदेखि पुस्तक मेलाहरु आयोजना गरेर प्रदर्शनीमार्फत बिक्री वितरण गर्ने कामलाई निरन्तरता दिइरहेका छन् । यसरी पुस्तक प्रदर्शनी गर्दा म बौद्धिक वा पढ्ने मानिस हुँ भनेर दुनियाँलाई द्ेखाउन खोज्नेहरुको ठूलो संख्या समेटिने भएकाले तेस्ता वर्गका लागि वर्षको एक दुईपटक यस्ता प्रदर्शनी हुने गरेका छन् ।
यतिखेर राजधानीको सभागृह परिसरमा साझा प्रकाशनको नेतृत्वमा बृहत पुस्तक प्रदर्शनी चलिरहेको छ । प्रर्दशनीमा प्रधानमन्त्रिदेखि राष्ट्रपतिसम्म गएर पुस्तक किनेको खबरहरु आइरहँदा हामी कपन अनलाइन मार्फत आफ्ना पाठकहरुलाई पनि यस्ता पुस्तक प्रदर्शनी गएर केही महत्वपूर्ण पूस्तक खरिद गरी आफ्नो चेतनास्तरलाई अझै बलियो बनाउन आग्रह गर्न चाहन्छौं ।
गत अशोज १६ देखि सञ्चालित यो प्रदर्शनी आउँदो २८ गतेसम्म रहनेछ । सामान्यतया सबैखाले पाठकहरुलाई उपयोगी  पुस्तकहरु पाइन्छन् । साझा प्रकाशनले आयोजना गरे पनि नेपालमा चलेका सबै प्रकाशन गृहहरुले आआफ्ना प्रकाशनहरु यहाँ उपलब्ध गराएका छन् ।
भर्खरै मदनपुरस्कार प्राप्त अमर न्यौपानेको सेतो धरती प्रति धेरै पाठकहरु आकर्षित देखिन्छन् भने हिमाल मिडियाले प्रकाशन गरेको सिल्भाँ लेभिको नेपाल हिन्दु अधिराज्यको इतिहासलगायतका पुस्तकले सबैलाई आकर्षित गराएको छ । जीवन र जगतलाई बुझ्ने धेरै पुस्तकका साथै आख्यान क्षेत्रका चलेका  पुस्तकहरु यो मेलामा पाइन्छन् ।

आजका कतिपय पाठकहरु लेखक हेरेर पुस्तक किन्ने गर्दछन् । मेलामा ध्रुवचन्द्र गौतमदेखि नारायण वाग्लेका उपन्यासहरु समावेश छन् । वामपन्थि धारका खगेन्द्र संग्रौलादेखि नारायण ढकालसम्मका कृतिहरु यहाँ पाइन्छन् । त्यसैगरी बानिरा गिरी भर्खरै प्रकाशित निबन्ध संग्रहदेखि शारदा शर्माको चर्चित भँुइफूलको देशसम्मको नारीवादी कृतिहरु यहाँ संग्रहित छन् । मेलामा थुप्रै अनुवाद गरिएका पुस्तकहरु पनि उपलब्ध छन् । नेल्सन मण्डेलाको जीवनीदेखि जे कृष्णमूर्तिका पुस्तकहरु नेपाली भाषामा पाइन्छन् । माओवादी जनयुद्धमा समर्पित कयौं पुस्तकहरु यहा उपलब्ध छन् भने जननेता मदन भण्डारीको तस्वीर पुस्तकलगायतका राजनीतिक पुस्तकहरु पनि मेलामा पाइन्छन् ।

वरिष्ठ साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाका कृृतिहरुको संगालो मात्र हैन राजनीतिज्ञ वि.पि. कोइरालासँग सम्बन्धित पुस्तक पनि मेलामा उपलब्ध छन् । थुुप्रै इतिहास तथा संस्कृतिसँग सम्बन्धित पुस्तहरु प्रदर्शनीमा उपलब्ध छन् ।
०२९ सालदेखि साझा प्रकाशनले हरेक वर्ष यस्तो खाले पुस्तक प्रदर्शनी गर्दै आइरहेको छ । यसपालाको प्रदर्शनीमा दैनिक हजारौं पाठकहरु आएर अब बिस्तारै हामीहरु पुस्तक पढ्नतिर पनि रुचि राख्न थालेका हौं कि भन्ने जाहेर गरिरहेका छन् । हामी पनि यो दशैंको अवसर पारेर केही विभिन्न अरु क्षेत्रमा खर्च गरेर सकिने पैसालाई पुस्तक किन्न तिर खर्चिने कि !!

तपाइँको प्रतिक्रिया ।