बाख्रापालनमा दृष्टिविहीन
कपन अनलाइन
भीमदत्तनगर:कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरका अति विपन्न परिवारका ५१ वर्षीय जीतबहादुर चौधरी जन्मदेखि नै दृष्टिविहीन हुन् । संसार देख्न नपाएका चौधरीले यतिबेला बेलौरी नगरपालिकामा बाख्रापालन व्यवसाय गर्दैआउनुभएको छ ।
जीतबहादुरले रामनगरस्थित हिमचुली बाख्रापालन समूहमा आबद्ध भएर बाख्रापालन गर्दैआउनुभएको छ । “दिनभर बाख्राखोरमै काम गर्छु,” उहाँले भन्नुभयो – “बाख्राका लागि डोरी बनाउनेदेखि घाँसपातको व्यवस्थापनमा समय खर्चिन्छु ।” गाउँमा रहेको सामुदायिक वनले चौधरीलाई बासका लागि टहरा बनाउन जग्गा उपलब्ध गराएको छ ।
“सम्पत्तिका नाउँमा सामुदायिक वनले टहरा बनाउन दिएको जग्गा मात्रै हो,” चौधरीले भन्नुभयो – “बाख्रापालनबाट आम्दानी गर्न सकिन्छ कि भनेर समूहमा आवद्ध भएको छु ।” चोधरी दम्पती शारिरीक रुपले अशक्त भएका कारण विगतमा गाउँमा मजदुरी गरेरै परिवारको लालनपालन गर्दैआएको थियो ।
उक्त समुहले १७५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेको हो । समुहमा आवद्ध प्रायः आदिवासी र विपन्न परिवारका छन् । हिमचुली बाख्रापालन समुहका अध्यक्ष हरिदास चौधरीका अनुसार दृष्टिविहीन जीतबहादुर निकै सक्रिय रुपमा बाख्रापालनमा संलग्न रहेको बताउनुभयो ।
उहाँका दुई छोरी र एक छोरा छन् । जेठी छोरीले गाउँमै सामान्य किराना पसल सञ्चालन गर्नुभएको छ । दुई छोरा छोरी गाउँकै सरकारी स्कूलमा पढ्दै आएका छन् । शुक्लाफाँटा आरक्षबाट विस्थापित भएर उनीहरु रामनगर पुगेका हुन् । आरक्षका कारण विस्थापित भएपछि सरकारले दिएको दश कठ्ठा जग्गामा चौधरीका पाँच दाजुभाई बस्दै आउनुभएको छ ।
लामो समयसम्म गाउँलेले चौधरीलाई खाद्यान्न उपलब्ध गराएका थिए । “खानलगाउनै समस्या छ, छोरीले पसल सञ्चालन गरेपछि सामान्य घरखर्च जुटेको छ,” उहाँले भन्नुभयो । दुवै जना अपाङ्ग भएकै कारण सरकारले मासिक रु तीन÷तीन सय भत्ता उपलब्ध गराउँदै आएको छ । रासस