माछापालनमा युवाको आकर्षण बढ्दै

कपन अनलाइन 

पथरी (मोरङ): मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।

मोरङ केराबारी–९ देवीझोडाकी आशा लिम्बूले पनि भर्खरै माछा पोखरी खन्नुभएको छ । धान खेती गर्दै आउनुभएकी उहाँले आफ्नो जग्गामा धान उत्पादन कम हुने र वनको छेउमा खेत भएकाले वन्यजन्तुले समेत बाली नोक्सान गर्ने हुँदा समस्या झेल्दै आउनुभएको थियो तर माछापालनमा नाफा पनि हुने र सरकारले अनुदान पनि दिने भएपछि उहाँले व्यावसायिक माछापालन सुुरु गर्नुभएको हो ।
केराबारीकै मञ्जु कार्कीले पनि यसै वर्षदेखि माछापालन सुरु गर्नुभयो । आम्दानी पनि हुने अनि उब्जाउ नहुने जमिनमा पोखरी खनेर माछापालनमा उहाँ लाग्नुभएको हो । सरकारले माछापालन कार्यक्रमअन्तर्गत अनुदान दिएपछि किसान अहिले माछापालनमा तानिएका हुन् । धानभन्दा दोब्बर आम्दानी हुने भएकाले माछापालन सुरु गरेको मञ्जुले जानकारी दिनुभयो ।

सरकारले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ जसअन्तर्गत जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन गरेर यस वर्ष ९६ हेक्टर क्षेत्रफलमा पोखरी विस्तार गर्ने लक्ष्यअनुसार किसानलाई अनुदानमा पोखरी खन्ने कामले तीव्रता पाएको जिल्ला कृषि विकास कार्यालय मोरङको भनाइ छ ।

कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार तीन वर्षभन्दा अघिदेखि नै यो मिसन सुरु भएपनि यस वर्षदेखि भने बृहत्रुपमा यो कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो ।

एक हेक्टरभन्दा माथिका पोखरी खन्ने कृषकलाई पहिलो प्राथमिकतामा राखिएको छ । सरकारले प्रतिहेक्टर तीनलाख अनुदान प्रदान गर्ने, माछा मिसनमा भाग लिने कृषकलाई बोरिङ, भुरामाछाको ढुवानीलगायतमा समेत अनुदान प्रदान गर्दै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।