एमालेले गलत ढङ्गले राष्ट्रवादको व्याख्या गरेको आरोप

कपन अनलाइन

काठमाडौँ, १५ पुस । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले नेकपा (एमाले)ले राष्ट्रवादलाई गलत ढङ्गले व्याख्या गर्ने तथा जनतालाई भड्काउने काम गरिरहेको र यस्तो प्रवृत्तिले देश भुमरीमा धकेलिने बताएका छन् । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उनले लोकतान्त्रिक पद्धतिमा एमाले चल्नुपर्छ र यसबाट मात्र संसद्मा जारी अवरोध हट्ने र देशले निकास पाउने बताए । उनले थपे, “एमालेले सस्तो लोकप्रियताका लागि संविधान संशोधनको विरोध गरिरहेको छ ।”

मन्त्री नायकले स्थानीय तहको निर्वाचन राष्ट्रिय आवश्यकता हो र यसका लागि सरकार, प्रतिपक्षसहित सबै दल एक भएर निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एमालेले देश टुक्रिन्छ भनेर बारम्बार दोहोर्याइ गलत प्रचार गरिरहेकाले एमालेको पछाडि निगरानी राख्नुपर्ने बेला आएको बताए ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले एमालेलाई ४० सिटमा विजय गराएर मधेसी जनताले विश्वास गरेको चर्चा गर्दै १० सिट भएको मधेसी मोर्चाबिना पनि स्थानीय निर्वाचन गर्नुपर्ने बताए। उनले संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा कतै पनि जनता सडकमा नआएको तर विपक्षमा ७५ जिल्लामा जनता सडकमा आएको बताए । मधेसी मोर्चाका नेता मनिषकुमार सुमनले संविधान संशोधन प्रस्तावलाई छलफल गर्न नदिएर एमालेले असंसदीय तथा अलोकतान्त्रिक चरित्र देखाएको बताए ।

तपाइँको प्रतिक्रिया ।