जोरपाटीको घटना हत्या भएको खुलासा, ११ प्रहरी तानिए, छानबिन गर्न प्रहरीको २ समिति

जोरपाटीको घटना हत्या भएको खुलासा, ११ प्रहरी तानिए, छानबिन गर्न प्रहरीको २ समिति

कपन अनलाइन ,२९ मङ्सिर ,काठमाडौं :

जोरपाटीको नयाँ बस्तीमा रहेको प्रहरी चौकीमा भएको आक्रमणको घटनाले नयाँ अनुहार देखाएको छ । प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरेर ट्याक्सी चालक राजकुमार लामा मृत्यु भएको दावी गरेको जोरपाटी नयाँबस्तीको घटना हत्या देखिएको छ। पोस्टमार्टम रिपोर्टमा लामाले मदिरा पिएको देखिएन। अनुसन्धान स्रोतले कपन अनलाइनलाई बतायो ।

यस घटनालाई  छानविन गर्न प्रहरीले एसएसपीको नेतृत्वमा समिति गठन गरेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयले प्रहरी अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरेको हो । टोलीमा खनालसहित प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी नायव उपरीक्षक दिपक रेग्मी रहेका छन्। टोलीलाई घटनाको छानविन गरेर पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसैगरी प्रहरीले सोही घटनाको छानविनका लागि अर्को एक टोली गठन गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा ५ सदस्यीय टोली रहेका छन् ।

घटनाबारे अनुसन्धानका लागि गठन भएको प्रहरीको समितिले मदिरा पिएर उनको मृत्यु नभई कुटेर मारेको निष्कर्ष निकाल्दै घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरी बिट नजिकै मदिरा पसलकी सञ्चालिका, उनको भाइ र लामानिकट माया तामाङ रहेका छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अनुसन्धानले बिटका प्रहरीले घटना लुकाउन झुट बोलेको समेत खुलेको छ।

अनुसन्धान स्रोतका अनुसार लामा र पसल सञ्चालिकाका भाइबीच २ सय रुपैयाँ ट्याक्सी भाडाको विषयमा विवाद हुँदा उनले इँटाले हिर्काएको खुलेको छ। इँटा लागेर लामा अचेत भएपछि उनलाई उपचारका लागि बौद्ध पिपलबोटमा रहेको स्तुपा अस्पताल पुर्‍याए पनि डाक्टरहरुले पहिल्यै मृत्यु भइसकेको जनाएको थिए ।

महानगरीय प्रहरी कार्यालयले घटनालाई शंकास्पद भन्दै सोमबार जोरपाटी चौकीमा रहेका सबै प्रहरीलाई बौद्धमा ल्याएको छ भने जोरपाटी चौकीमा सबै नयाँ प्रहरीहरू पठाएको छ ।

आइतबार ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएपछि आक्रोशित भएका उनका आफन्त र स्थानीयले चौकीभित्रै प्रहरी राखेर बाहिरबाट आगो लगाउने प्रयास गरेका थिए।  स्थानीय बासिन्दाले जोरपाटी नयाँ बस्ती चौकीमा आँगजनी गर्दा प्रहरी चौकीको भवन ध्वस्त भएको थियो  ।

बौद्ध प्रहरीको यस अघिको विवादित घटना  

एक वर्षको बीचमा बौद्ध बृत्तमा भएको यो दोस्रो घटना हो। यस अघि  रक्सी खाएर हल्ला गरेको भन्दै पक्राउ गरी हिरासतमा राखेका टिकबहादुर राईको मृत्यु भएको थियो ।

वैशाख २७ गते चुच्चेपाटीको एलपी ग्यास डिपोमा भएको सामान्य विवादमा पक्राउ परेका राईको २९ गते मृत्यु भएको थियो।
तपाइँको प्रतिक्रिया ।