‘विकासका लागि सहयोग गर्न पाकिस्तानी सरकार तयार’

कपन अनलाइन, चितवन, २८ मङ्सिर ।

नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जाबेदले कुनै एक देशसँग मात्र आश्रित हुँदा विकासमा सोचे जस्तो प्रगति गर्न नसकिने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनले आज यहाँ आयोजना गरेको आफ्नो स्वागत कार्यक्रममा उहाँले देशको चौतर्फी विकासका लागि विभिन्न देशसँग राम्रो सम्बन्ध कायम गर्नुपर्ने सुझाव दिनुभयो । नेपालले एक देशसँग मात्र निर्भर हँुदा विभिन्न समयमा समस्या भोग्नुपरेको बताउँदै उहाँले सरकारले वातावरण बनाए विकासका लागि सहयोग गर्न पाकिस्तानी सरकार तयार छ भन्नुभयो । नेपालमा उत्पादन बढाएर बजारको खोजी गर्न जरुरी रहेको राजदूत जाबेदको भनाइ थियो ।

चितवन जिल्ला उत्पादनको हिसाबले निकै महत्वपूर्ण रहेको आफूले थाहा पाएको बताउँदै उहाँले यहाँको कुखुराजन्य उत्पादनको प्रवद्र्धन गर्न जरुरत रहेको सुझाव दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमले पाकिस्तानसँग नेपालले व्यावसायिक सम्बन्ध थप सुधार गरी लाभ लिनुपर्ने बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।