रिलायन्स बाट प्रा.डा. वासुदेव त्रिपाठी सम्मानित

रिलायन्स बाट प्रा.डा. वासुदेव त्रिपाठी सम्मानित

कपन अनलाइन, २५ मङ्सिर,काठमाडौँ

काठमाडौँ कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा १०८ औँ लक्ष्मी जयन्तीको अवसर पारेर हिजो मङ्सिर २५ गते शनिबार आयोजना गरेको उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत प्रा.डा. वासुदेव त्रिपाठीलाई सम्मानित गरिएको छ । वरिष्ठ साहित्यकार प्रा. डा. केशव प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कवि गोष्ठीमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई २० हजार ५ रुपयाँ  राशीको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार अर्पण गरियो ।

रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मान यसअघि क्रमशः डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा. कुमार बहादुर जोशी, प्रा.डा. चुडामणि बन्धु र प्रा.डा. महादेव अवस्थीलाई प्रदान गरिएको थियो । काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा कविहरू हेम प्रभाष, पुरुषोत्तम दाहाल, बलराम दाहाल, रामप्रसाद ज्ञवाली, नारायण नेपाल, नारायण निरासी, कोषराज न्यौपाने, कलानिधि दाहाल, प्रभाती किरण, जय गौडेल लगायत अन्य नयाँ प्रतिभाहरू समेत २५ जना भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए  ।

समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. वासुदेव त्रिपाठीले देवकोटाको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गर्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि केशव प्रसाद उपाध्यायले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूलाई लिएर वर्षेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । साथै विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने बताउनुभयो ।

उपत्यकाका ३२ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता मङ्सिर २४ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट पाँच वक्ताहरू छानिएका थिए र २५ गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच पाँच प्रतियोगीहरूबिच अन्तिम प्रतिश्पर्धा गराइयो । प्रतियोगितामा नेपाल वेद विद्याश्रम, गौशालाका छात्र अतुल पौडेल प्रथम, टाइमलाइन स्कुल, जोरपाटीकी छात्रा अभिषा सञ्जेल द्वितीय, गणेश उच्च मा.वि., चपलीका छात्र सविन घिमिरे तृतीय, महान् सिद्धार्थ हाइ स्कुलकी छात्रा प्रतीक्षा के.सी. र रिपुमर्दिनी सैनिक विद्यालय, बाँसबारीकी छात्रा क्रमशः चौथो र पाचौँ स्थान प्राप्त गर्न सफल भएका छन् । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरेको थियो  ।

तपाइँको प्रतिक्रिया ।