जलयात्रा गर्ने पर्यटकलाई शौचालयको सास्ती

कपन अनलाइन, फलेवास (पर्वत), २ मङ्सिर ।

कालीगण्डकी नदीमा जलयात्राको मज्जा लिन बर्सेनि हजारौँ विदेशी पर्यटक आउँछन् ।

जिल्ला विकास समिति पर्वतले जलयात्राका लागि आउने ती पर्यटकबाट कर असुली गर्दै आएको छ । तर, जलयात्रा सुरु हुने स्थलमा व्यवस्थित शौचालयको अभाव हुँदा विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् ।

कालीगण्डकीमा पर्वतको पाङस्थित नयाँपुलबाट जलयात्रा यात्रा सुरु हुन्छ तर, त्यहाँ वनभोजमा आउने समूहले अत्यधिक फोहर छाड्ने गरेका छन् । “जथाभावी फोहरले दुःखी बनायो” इजरायली नागरिक असाफ अलोनीले भन्नुभयो– “अब आउनेले यस्तो देख्न नपरोस् ।”

उहाँले फोहरसँगै व्यवस्थित शौचालय र पिउने पानीको अभाव भएको बताउनुभयो । असाफजस्तै अन्य पर्यटकले पनि जथाभावी फोहर र शौचालय नभएकोमा दुःख मनाउ गरेका छन् । रिभर गाइड ज्ञानु तिवारीले जलयात्रा गर्नुपूर्व तयारी गर्ने नयाँपुलमा शौचालय र खानेपानीको निकै समस्या भएको गुनासो गर्नुभयो । “शौचालय र खानेपानीको व्यवस्थापन आवश्यक छ,” उहाँले भन्नुभयो ।

जिल्ला विकास समितिले जलयात्रा व्यवसायीबाट कर उठाए पनि देखिएका समस्या समाधान गर्न चासो नदेखाएको उहाँको भनाइ छ । “कालीगण्डकीमा जलयात्रा पर्वतकै पहिचान हो भनेर सम्बन्धित निकायले चासो देखाए राम्रो हुने थियो,” तिवारीले भन्नुभयो । शौचालय अभावले पर्यटक पाखो क्षेत्रमा जान बाध्य छन् ।

जलयात्रा सुरु हुने नयाँ पुलमा वनभोजका लागि जिल्लाको कुश्मा, बागलुङ र बेनीसम्मका विभिन्न समूह आउने गरेका छन् । वनभोजमा मनोरञ्जन लिन आउनेहरुले फोहर त्यसै छाड्ने गरेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।