खोटाङ सेवा समाज बेलायतले सातवटा एम्बुलेन्स दिने
कपन अनलाइन, खोटाङ, २१ कात्तिक ।
खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीका लागि सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।
खोटाङ सेवा समाज युके एम्बुलेन्स समन्वय समितिका काठमाडौँ संयोजक जयकुमार राईले शुक्रबार स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा सातवटा एम्बुलेन्स दिने तयारी भइसकेको जानकारी दिनुभयो । जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउने र उनीहरुको ज्यान बचाउका लागि एम्बुलेन्सको व्यवस्था मिलाउने तयारी गरिएको समाजले जनाएको छ ।
चिसापानी, डाँडागाउँ र बाक्सिलाका लागि गत वर्ष नै एम्बुलेन्स खरिद गरेको समाजले यसपल्ट थप सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि एम्बुलेन्स खरिद गर्न रकम सङ्कलन भइरहेको संयोजक राईले जानकारी दिनुभयो । निःस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले एम्बुलेन्स जुटाउनका लागि युकेमा रत्नकुमार राईको संयोजकत्वमा एम्बुलेन्स समन्वय समिति गठन गरिएको छ ।
दिक्तेल–चखेवा सडक छ महिनापछि पुनः सञ्चालन
यसैगरी मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवा सडक छ महिनापछि सञ्चालनमा आएको छ । बर्सातको पानीले गत जेठ दोस्रो हप्तादेखि अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।
यात्रुको समस्यालाई दृष्टिगत गर्दै दिक्तेलदेखि चखेवासम्म करिब ४६ किलोमिटर सडक मर्मतपछि सञ्चालनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । लामो समयसम्म अवरुद्ध सडक सञ्चालनमा आएपछि दिक्तेलबाट चखेवासम्म नियमित यातायात सेवासमेत सञ्चालन गरिएको छ ।
कालोपत्रको काम सुरु गरिएको दिक्तेल–चखेवा सडक तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ काम भइरहेको छ । रासस