सिन्धुपाल्चोकका दल, सांसद र कर्मचारी प्राकृतिक विपत्तिमा एक
कपन अनलाइन, २ साउन, २०७३
प्राकृतिक प्रकोपग्रश्त सिन्धुपाल्चोक जिल्लाका प्रमुख राजनीतिक दलका नेता तथा सांसद प्राकृतिक विपत्ति परेकाहरुको पुनःस्थापना गर्न एक जुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र बाह्रबिसे–काठमाडौँ सम्पर्क समाजले ‘भोटेकोसी–सुनकोसी करिडोर बचाउ अभियान’ बृहत् अन्तक्र्रियामा सम्बन्धित नेताहरुले प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत दिन र पुनःस्थापना गर्न सरकारसँग तत्काल मागसमेत गरे ।
कार्यक्रममा सहभागी हुँदै नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष तथा सांसद अमृतकुमार बोहराले सबै राजनीतिक पार्टी एक भएर लागे मात्र प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धार गर्न सकिने बताए । जिल्लाको राजनीतिका पूराना नेता राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले कार्यक्रममा बोल्दै जुरे पहिरो, भूकम्प र भोटेकोसी बाढीजस्ता प्राकृतिक विपत्तिले सिन्धुपाल्चोक तीन वर्ष लगातार चपेटामा परे पनि खासै उद्धार र पुनःस्थापनाका कार्य हुन नसकेको बताउँदै प्राकृतिक विपत्तिमा परेकालाई विशेष पहल गर्नुपर्नेमा जोड दिए । मन्त्रिसमेत रहेका रेशम लामाले प्रकृति र राज्य दुवैले सिन्धुपाल्चोकलाई ठगेका छन् भन्दै सबै दल एक हुनाको विकल्प नभएको जिकिर गरे ।
प्राकृतिक विपत्तिमा परेकालाई पर्याप्त पुनःस्थापना नगरेको आरोप लगाउँदै सबै दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिँदै सांसद शेरबहादुर तामाङले प्रकोपको पीडामा सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए भने प्रजिअ गोकर्णमणि दवाडीले भोटेकोसीमा बाढी आएपछि जिल्लाको क्षमताले भ्याएसम्म सबै उद्धार र पुनःस्थापनाको कार्य गरिएको जानकारी गराएका थिए । उनका अनुसारअहिलेसम्म बाढीबाट ७७ घर बगाएका छन् भने थप बगाउने खतरा छ ।