समात्नेहरूचाहिँ झन् थर्कमान

समात्नेहरूचाहिँ झन् थर्कमान

कपन अनलाइन /२२ असार । 

अहिले नेपाल प्रहरी टेकुका अधिकृत र अध्यागमन एअरपोर्टका कर्मचारी जागिर तलमाथि होला भनी त्राहिमाम छन् । मानवतस्करी गर्ने एक अभियुक्तलाई पक्राउ गरेकाले उनीहरूको दिनको चैन र रातको निद हराम भएको हो । आफूलाई एकदमै शक्तिशाली बताउने तर अमेरिका लगी नेपाली किशोरकिशोरीलाई अलपत्र पार्ने रजनी श्रेष्ठ नामक महिलालाई कानुनको दायरामा ल्याउन लागेकाले सम्भावित अपायक सरुवाका कारण तैं चुप मैं चुपको अवस्थामा पुगेका हुन् । रजनीले केहीअघि १२ जना १६ देखि १९ वर्षका युवायुवतीलाई अमेरिका लगेकी थिइन् ।

कार्यक्रममा भाग लिन लगिएका तीमध्ये गत शुक्रबार जम्मा ३ जना मात्र फर्किए । अध्यागमन विमानस्थलका कर्मचारीले मानव तस्करीको आशंकामा रजनीसँग सोधपुछ थाले । तर, उनले गृहमन्त्री शक्ति बस्नेत,श्रममन्त्री दीपक बोहरा,प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालदेखि प्रहरीका अरु उच्चाधिकारीको समेत नाम लिई कसैले केही गर्न नसक्ने अड्डी कसिन् । ठूला कुरा गर्न थालेपछि पक्रेर पक्रेर अध्यागमन विभागमा मुचुल्कासहित पठाइयो ।

विभागले फाइल उठाएर प्रहरीको जिम्मा लगायो । प्रहरीमा पनि पैसा र पहुँचको मात्र धक्कु लगाइरहिन् । भूकम्पको पीडा र भारतीय नाकाबन्दीका बेला बजारमा खाद्य पदार्थको अभाव सृजना गरी कालोबजारी गर्ने मारवाडीलाई पक्रँदा तत्कालीन काठमाडौंका प्रजिअ एकनारायण अर्याल र बानेश्वर वृत्तका डिएसपी दानबहादुर कार्कीलाई धन्यवादको पात्र बनाउनुको सट्टा तत्कालै अपायकमा सरुवा गरिएको थियो । कालोबजारी गर्ने मारवाडीको गोदामबाट बरामद तेल र घ्यू अदालतको आदेशमा लिलाम गरी भर्खरै राज्यले करिब डेढ करोड राजस्व हात पारेको छ । जडीबुटीमा मात्र ५०सौं रोपनी जग्गा ६ लेनको सडकछेउमा भएका मारवाडी बाबुछोरा अहिले भारततिरै छन् । अध्यागमन र प्रहरीमा समेत यही केस सम्झिएर अहिले थर्कमान बन्ने अवस्था आएको हो । प्रतिव्यक्ति १५ देखि २२ लाखसम्म अभिभावकसँग लिएर छोराछोरीलाई अमेरिका छिराउने रजनी पहुँचदेखि करोडौं पैसासमेत प्रयोग गर्न पटक्कै नहिच्किचाउने जब्बर महिलाका रूपमा देखापरिन् । उनले अमेरिकामै छाडिदिन्छु भनी यसपटक लगेका तर फिर्ता ल्याइएका ३ जनाका अभिभावकसँग पनि १५ लाखभन्दा बढी रकम असुल गरिसकिएको आरोप छ ।

प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिसकेको छ । अनुसन्धानमा संलग्न एसएसपी विक्रम थापा भन्छन्, ‘सम्बन्धित अभिभावकसँग यथार्थता बुझी कारबाही प्रक्रियामा लागेका छाँै ।’ रजनीले यसपटक अमेरिका लगेकाहरूमा विवेक सम्बाहाम्फे, दीपेन गुरुङ, विराज विश्वकर्मा, विकास दुम्जन, आनन्द रोकामगर, यमन पुन, प्रकाश छन्त्याल, एलिजा भण्डारी, लीला पुनलगायत छन् । रूपन्देहीको पासपोर्ट नम्बर ०५४७८०७४ भएकी रजनीले यहाँबाट कार्यक्रमका नाममा भिसा लिएर अमेरिका पु¥याइएका युवायुवतीलाई उतै छाड्ने गरेको बताइन्छ । जनआस्था साप्ताहिकमा खबर छापिएको छ  ।

तपाइँको प्रतिक्रिया ।