नयाँशक्ति नेपालको घोषणासभा अत्यन्त हाइटेक र पृथक हुने
कपन अनलाइन, जेठ २८, २०७३
बाबुराम भट्टराईको नयाँ पार्टी नयाँ शक्ति नेपालको पार्टी घोषणा तथा राष्ट्रिय भेला कार्यक्रमको तायारी व्यापकरूपमा भैरहेको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने पार्टी घोषणा तथा राष्ट्रिय भेलाका लागि दशरथ रंगशालालाई झकिझकाउरूपमा तयार पारिँदै छ । आजसम्म नेपालमा हुने राजनीतिक भेलामध्ये पृथकमात्र हैन विशेष बनाउन नयाँ शक्तिका नेता तथा कार्यकर्ता खटिइरहेका छन् । कार्यक्रमलाई हाइटेक बनाउने तयारी भएको छ ।
नयाँ शक्तिका नेता र कार्यकर्तालाई छुट्टै आसन ग्रहणको व्यवस्था नभएको उहाँले जानकारी दिनुभयो । ‘तर अन्य पार्टीका नेताहरु, भाइचारा, अन्य अतिथिहरु र सञ्चारकर्मीको लागि मञ्चको व्यवस्थापन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो । सबै अतिथिहरुको मञ्चसमेत दर्शकदिर्घापट्टि नै व्यवस्था गरिएको र मुख्य मञ्चमा उद्घोषक मात्र रहने व्यवस्था गरिएको छ ।
परम्परागत ढंगले रिबन काटेर, बलेुन उडाएर उद्घाटन गर्ने कार्यक्रम नरहेको र संस्थापक सदस्यहरुले सामूहिक शपथ ग्रहण गरेर कार्यक्रम अगाडि बढाइने छ । रंगशालाको संवेदनशीलतालाई ध्यानमा राखेर मञ्च बाहिरैबाट फिट गरेर ल्याइने तयारी गरिएको उहाँले बताउनुभयो ।
सहभागीहरुको सुविधाको लागि मञ्चसँग र मञ्चको दायाँ–बायाँ गरी तीन वटा ठूलो एलइडी स्क्रीन र मुल गेट अगाडि पनि एलइडी स्क्रीनमा कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मञ्च व्यवस्थापन गरिएको छ । हरेक डिस्प्लेमा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी पनि प्रसारण गरिने व्यवस्था गरिएको छ । कार्यक्रमलाई ५ वटा टिभिबाट प्रत्यक्ष प्रशारण साथै युट्युबबाट पनि लाइभ प्रशारण गरिनेछ । नयाँशक्ति नेपालको फेशबुक पेजबाट पनि प्रत्यक्ष भिडियो प्रशारण हुने छ ।