मानसरोवर जान भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो
कपन अनलाइन, नेपालगन्ज, १९ जेठ, २०७३
तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न नेपाल हुँदै तिब्बत जाने भारतीय पर्यटकको सङ्ख्या यस वर्ष नेपालगन्जमा बढ्ने अनुमान गरिएको छ । यस वर्ष कैलाश मानसरोवर जानका लागि तिब्बततर्फको बाटो नखुलेकाले नेपालगन्ज हुँदै त्यसतर्फ जाने भारतीय पर्यटकको चाप अहिले नेपालगन्जमा ह्वात्तै बढेको पाइन्छ । नेपालगन्जका प्रायः सबै होटल अहिले कैलाश मानसरोवर जाने भारतीय पर्यटकले भरिभराउ छन् । यहाँका पर्यटन व्यवसायी प्रशान्त शाहको भनाइ छ, ‘गत वर्षभन्दा यस वर्ष तीनगुना पर्यटक बढ्ने अनुमान गरिएको छ ।’
भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएपछि यहाँका स्तरीय होटलमा सहजै कोठा पाउन पर्यटकलाई हम्मेहम्मेसमेत परेको छ । “हामी २० जनाको सङ्ख्यामा मानसरोवर जान आएका छौँ, तर स्तरीय होटल पाउन धेरै गाह्रो भएको छ”, एक भारतीय पर्यटको गुनासो थियो । त्यसैगरी, नेपालगन्ज विमानस्थलमा पनि उडान भर्न भारतीय पर्यटकको उत्तिकै चाप छ । नेपालगन्ज हुँदै हुम्लाको सीमकोटबाट तिब्बती सीमा हिल्सासम्म तीर्थयात्रु ओसार्न सिम्रिक, मनाङ र फिस्टेलका हेलिकप्टरलाई अहिले भ्याई–नभ्याई छ ।
त्यसैगरी, नेपाल एअरलाइन्स, तारा, गोमा, सिम्रिक, मकालु र एअर काष्ठमण्डपले पनि नेपालगन्ज–सीमकोट नियमित उडान भरिरहेका छन् । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका धेरै पर्यटक कैलाश मानसरोवर जानका लागि नेपालगन्ज आएको पाइन्छ । पछिल्ला केही वर्षको तथ्याङ्कअनुसार एक वर्षमा सरदर पाँच हजार भारतीय पर्यटक नेपालगन्ज हुँदै मानसरोवर गएका छन् । तर यो वर्ष सो सङ्ख्या बढेर करिब १५ हजार पुग्ने अनुमान गरिएको छ । रासस