नेपाली सेनाले भूकम्पबाट प्रभावितलाई सामूहिक आवास निर्माण गर्ने

नेपाली सेनाले  भूकम्पबाट प्रभावितलाई सामूहिक आवास निर्माण गर्ने

xa87ad243489fc10a4ca1c9e47f819920_L.jpg.pagespeed.ic.HYhykmsT1y

कपन अनलाइन, त्रिशूली(नुवाकोट), १३ जेठ, २०७३

। भूकम्पबाट प्रभावित नुवाकोटमा निर्माण हुने १० सामूहिक आवासमध्ये सात स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । तीन स्थानमा भने सहरी तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण गर्न थालिसकेको छ । सदरमुकाम विदुरमा प्रजिअ विष्णुप्रसाद पोखरेलका अध्यक्षतामा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाको श्रीनाथ गण देवीघाटलाई दिने निर्णय गरेको हो । सहरी विकास मन्त्रालय मार्फत निर्माण हुन लागेको सामूहिक आवास निर्माणको जिम्मा समितिले सेनालाई दिने निर्णय गरेको हो ।

ओखरपौवाको कागतीगाउँ, थानसिं गाविसको छहरेबजार आसपास, बेतिनी गाविसको झगरेफाँट दोभान वा राउतबेंसी गाविसको मानेडाँडा, शिखरबेंसी गाविसको ठूलीखेत दुप्चेश्वर जाने बाटो, काहुले गाविसको वडा नंं ४ गुम्बुडाँडा, बुधसिं गाविस वडा नं ४ को चण्डी माविको पुरानो परिसर र बसुन्चेत गाविसको मेघाङचौरमा सामूहिक आवास निर्माण गर्न लागिएको हो ।

प्रजिअ पोखरेलका अनुसार जिल्लाका बाँकी तीन स्थानमा सहरी विकास मन्त्रालय अन्र्तगतको जिल्लास्तरीय कार्यक्रम समन्वय एकाइ मार्फत सामूहिक आवास निर्माणको प्रक्रिया अघि बढिसकेको छ । सेनाले निर्माण गर्ने सामूहिक आवास भवन निर्माणका लागि आवश्यक जग्गा पहिचानका लागि श्रीनाथ गणसहित भवन डिभिजन कार्यालय र मालपोत कार्यालयको समन्वयमा अवलोकन र जाँच निरीक्षण गर्नेसमेत निर्णय गरिएको छ । आउँदो बर्खालाई ध्यानमा राख्दै बैठकले विपद्पूर्व तयारीका लागि गत वर्ष प्राप्त सामग्रीको विवरण तयार पार्ने र आवश्यक पूर्वतयारी गर्ने समेत निर्णय गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।