एमाले क्षेत्रीय सचिवमा ध्रुव न्यौपाने आउने तयारी

एमाले क्षेत्रीय सचिवमा ध्रुव न्यौपाने आउने तयारी

dhurba raj

कपन अनलाइन/चैत-५, २०७२
क्षेत्र नं. ४ नेकपा एमालेभित्रका सक्रिय युवा नेता ध्रुवराज न्यौपानेले क्षेत्रीय सचिवमा चयन हुने तयारी थालेका छन् । नेकपा एमालेतर्फबाट तत्कालिन कपन गाविस कमिटिका अध्यक्षसमेत रहेका न्यौपाने यस क्षेत्रका अगुवा सामाजिक कार्यकर्ता पनि हुन् । कपन क्षेत्रमा सामाजिक तथा शैक्षिक संस्थाको अगुवाई गरिरहेको उनलाई क्षेत्रीय सचिव बनाउन पर्ने माग पार्टीका बिभिन्न तहतप्काबाट उठेपछि आफूले सो पदको दावी गरेको न्यौपानेले बताए । पार्टी संगठनलाई युवाहरुमाझ विस्तार गर्न विशेष दक्ष मानिएका न्यौपानेलाई सचिवमा ल्याउन केन्द्रबाट काठमाडौँ क्षेत्र नं. ४ मा जिम्मेवारी पाएका नेताहरुमा लागेको बुझिएको छ ।

नेकपा एमाले क्षेत्र नं. ४ को अधिवेशन यही चैत्र १३ गते हुन लागेको अवसरमा कपन अनलाइनसँगको भेटमा ध्रुवराज न्यौपानेले आफू क्षेत्रीय सचिव बन्न लागेको बताएका हुन् । क्षेत्र नं. ४ र बुढानीलकण्ठ नगरपालिकाको सबैभन्दा ठूलो सामाजिक संस्था जोरधारा खानेपानी संस्थाका अध्यक्षसमेत रहेका न्यौपानेलाई कपनका ४ वटा वडाले प्रत्यक्ष तथा १ वटा वडाले नैतिकरुपमा सघाउने भएको छ भने चुनिखेल र महांकाल क्षेत्रले पनि न्यौपानेलाई सघाउने तयारी गरेको बताइएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिजस्तो महत्वपूर्ण क्षेत्रमा पनि अध्यक्ष रहेका न्यौपाने एमालेभित्र माधव नेपाल समूह निकट मानिन्छन् । यो प्यानलबाट क्षेत्रीय अध्यक्षमामा हाल क्षेत्रीय अध्यक्षसमेत रहेका कुशुमकुमार कार्कीले दावी गरेका छन् । आउँदो कार्यकालका अध्यक्षमा कार्की र सचिवमा न्यौपानेको दावी भए पनि उनीहरुबाहेक अरु कसैले आधिकारिकरुपमा उम्मेदवारी वा दावी गरेका छैनन् । यद्यपि आधा दर्जन व्यक्तिहरुले अध्यक्ष र सचिवमा दावी गर्न सक्ने बताइएको छ । सचिव पदमा ध्रुवराज न्यौपानेलाई विजय गराउन क्षेत्र नंं ४ भित्र यस क्षेत्रका अगुवाहरुको टिम नै लागि परेको श्रोतले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।