काजी बा, दारी बा, बसन्तबाबु र ५१०० सँग रोनितको झट्का !

काजी बा, दारी बा, बसन्तबाबु र ५१०० सँग रोनितको झट्का !

कपन अनलाइन/चैत्र ३, २०७२

-केशव पाठक
गोकर्ण पारीको उत्तरबाहिनीस्थित कान्तिभैरब मन्दिरको प्राकृतिक अनि धार्मिक प्रांगण । बसन्त ऋतुको आगमनसँगै गोकर्णको जंगलबाट आइरहेका चराहरुको चिरिबिरी अनि साथमा बाँदरका आवाजले वातावरण काठमाडौँमा छु जस्तो लाग्दैन । चैत महिना लाग्दासम्म पनि वागमतीमा संग्लो पानी राम्ररी बगिरहेको छ । केही व्यक्तिहरु वागमती किनारमा पिण्डदानमा तल्लिन छन् । उत्तरवाहिनीमा पिण्डदान वा श्राद्ध गर्नु राम्रो मानिन्छ । कान्तिभैरव मन्दिरसँगैको कान्तिभैरब गुरुकुल विद्यालयबाट संस्कृत भाषामा पढाइएको छन्दमय सुमधुर आवाजले स्वर्गीय आनन्द दिलाएको महशुस भैरहेको छ  । लाग्दो चैतको बिहानी भए पनि चिसो धेरै नै छ । घाम अझै प्यारो छ, केही मानिस तथा बाँदरका झुण्डहरु घाम ताप्दै गरेको देखिन्छ ।

IMG_0111
यो प्राकृतिक अनि धार्मिक वातावरणमा बसन्तबाबुले घरीघरी रक्षा गुरागाइँलाई आँखाले जिस्काइरहेका छन् । क्यामराको आँखाले बोल्ने बसन्त जिस्किन र जिस्काउन माहिर छन् । तर यी ४५ वर्षीय प्रौढ बसन्तबाबु मन र धन दुवैका धनी छन् । बसन्त एक फिल्मको छाँयाकार भएर यो प्रकृतिको खानीमा आउँदा मलाई ड्राइभर बनाएका हुन् । उनी र मबीच लामो सम्बन्ध भए पनि उत्तरबाहिनीसँग मेरो परिचय हुनका लागिचाहिँ म ड्राइभर मात्र भएर आइपुगेको हुँ । पुग नपुग ३ किलोमिटरको दुरिमा रहेको कपनमा बस्ने म उत्तरबाहिनी आइपुग्न बसन्तबाबुकै हाराहारीको उमेर लागेछ । आज पनि उनले ड्राइभर नबनाएका भए सायद यो प्रकृतिको खानीमा म कहिले आइपुग्थेँ भन्न सक्दिन । साधुवाद बसन्तबाबुलाई । यो लेख वा समाचार जोजस्ले पढ्नु हुन्छ एकपटक उत्तरबाहिनी जानुहोला प्रकृतिसँग भेट हुन्छ तपाइँको । छुट्टै कुरा हो तपाइँसँग बसन्त बाबुचाहिँ हुने छैनन् ।

IMG_0102
यही फागुन महिनामा बसन्तजीले फोटोग्राफी शुरु गरेको २१ वर्ष पुगेछ । आजकाल २१ वर्षे ठिटो नै बरिष्ठ फोटोग्राफर हुँ भन्दै गरेको देखेको मैले दुइ दशक फोटोमै काम गरेर भात खाएका यी आदरणीय व्यक्तिलाई लिएर फिल्म सुटिङमा आउँदा मजा पनि लाग्यो । त्यसो त चक्रपथका रइस नै हुन् बसन्त,उनलाई भात खान फोटो नै खिच्न त के पर्थ्यो र !  बसन्तभन्दा उमेरमा साना तर केही गरौँ भन्ने रोनित(रमेश) बिसुन्खेसँग उनले केही समयदेखि म्युजिक भिडियो र फिल्ममा सहकार्य गर्दै आएका छन् । मसँगको भलाकुसारीमा पटक पटक रोनितको नाम बसन्तले लिएकाले यी रोनित कस्ता होलान् भन्ने चासो पनि थियो मलाई । ३० वर्षका हाराहारीका यी क्षमतावान् युवाले थुप्रै म्युजिक भिडियो निर्देशन गरेका छन् । त्यसैगरी करिब १० वटा फिल्ममा सहायक निर्देशक बनेर काम गरिसकेको रोनितले शेखर, बाबु, शिव र भरतलाई निर्माता बनाएर एउटा ‘अनलिमिटेड फन’ भन्ने नाराका साथ झट्का नामको फिल्म बनाउने तयारी गरेका रहेछन् । कथा, पटकथा अनि सम्बाद पनि रोनितले नै तयार पारेका रहेछन् । यी प्रतिभाशाली युवालाई बसन्तबाबुले दरिलो साथ दिएका रहेछन् । प्रशंसा गरे रोनितले बसन्तबाबुको । बसन्त झ्न के कम उनले पनि फूलबुट्टा भरे रोनित यस्तो उस्तो भनेर ।

IMG_0099
झट्का फिल्ममा दुईजना बरिष्ठ व्यक्तिलाई स्थान दिइएको रहेछ ‘काजी बा’ का नामले चर्चित रामचन्द्र अधिकारी र ‘दारी बा’ का रुपमा चर्चित सुरविर पण्डित । कान्तिभैरव मन्दिरको प्रांगणमा यी वरिष्ठ कलाकार साँच्चै युवाहरुलाई उत्साह प्रदान गर्दै थिए । शुभमुहुर्त सट सुरविर पण्डितले दिए । रामचन्द्र अधिकारीले मुहुर्तमा फुटाएको नरिवल सबैलाई टुक्रा बनाएर खुवाए । धार्मिक स्वरुपमा यी अधिकारी र पण्डितले एकअर्काको मिठो प्रशंसा पनि गरे । यी दुवै बरिष्ठ कलाकारलाई प्रशंसा र धन्यवाद दिन छुटाएनन् निर्देशक रोनितले । रोनितले फिल्ममा काम गर्ने कलाकारको परिचय गराए । युवा कलाकारहरु थुप्रै नामहरु लिए रोनितले तर मलाई यो लेख तयार गर्दा एउटा मात्र नाम आयो पावल बज्राचार्यको । भैरव मन्दिरमा आयोजित यो मुहुर्त कार्यक्रम यिनै इशाइ धर्मावलम्बी युवाको उद्घोषणबाट चलेको थियो । थलीमा स्थायी बसोबास गर्ने पावलका पिता चाहिँ इशाई धर्मगुरु नै रहेछन् । झट्का फिल्ममा तीनजना हिरो र तीन जना हिरोइन रहने जानकारी दिइयो । लिड रोलमा हिरोइन बन्ने नानी थिइन् उनै रक्षा गुरागाइँ जो अघिदेखि बसन्तबाबुको नजरमा नाचिरहेकी थिइन् । अरु कलाकारको मुहार झल्झल्ति आए पनि नाम याद हुन सकेन ।

यो लेख वा समाचारमा लेखिएको यो ५१०० चाहिँ के होला भन्ने लाग्न सक्छ । बसन्तबाबुले रु. ५१०० मा काम पो गरेछन् कि भन्ने पनि लाग्न सक्छ वा यो झट्का फिल्म ५१०० रुपैँयामा पो बन्न लाग्यो कि भन्ने सोच पनि आउन सक्छ । खासमा एउटा फिल्मको शुभमुहुर्त हुँदै थियो तर क्यामरा देखिदैन कतै । बल्लबल्ल बसन्त बाबुले क्यामरालाई ट्राइपोडमा राखे । निकोनको डि ५१०० नामको सानो क्यामरालाई ट्राइपोड राखे र ओरोदोरो गर्न थाल्दा पनि सबैलाई सुभमुहुर्त सट यही क्यामराले खिच्ने  होला भन्ने लागेको रहेनछ । तर सबैले यही सानो आकारको क्यामरालाई पैसा राखेर ढोगेपछि मात्र म पनि यही क्यामराले फिल्म खिचिने रहेछ भन्ने निक्र्याैलमा पुगे । ‘यही क्यामराले फिल्म खिच्ने हो ?’ मैले बसन्तबाबुलाई सोधेँ । उनले ‘यो क्यामराको बारेमा हजुरलाई थाहा छैन, यो त कमाल क्यामरा हो हजुर’ भनेर मेरो बोल्ती बन्द गरे । क्यानन को ७० डि बाट केही फोटोहरु  मैले पनि खिँचे समाचारको लागि । अब यो डि ५१०० को कमाल कस्तो होला मनमा यही गुन्दै सुटिङ युनिटसँग बिदा लिएँ ।

झट्का फिल्म शुभमुहुर्त कार्यक्रमका केही तस्वीरहरू:

IMG_0065 IMG_0051 IMG_0028 IMG_0011 IMG_0003 IMG_0159 IMG_0136 IMG_0126 IMG_0107 IMG_0097

तपाइँको प्रतिक्रिया ।