बुनपाबाट भारतीको विदाइ, न्यौपाने निमित्त प्रमुख
कपन अनलाइन/फागुन, १०, २०७२
बुढानीलकण्ठ नगरपालिका निर्माणपश्चात नगरपालिका प्रमुख भएर आएका विरेन्द्रदेव भारतीको सरुवा भएको छ । बुढानिलकण्ठ नगारपालिका निर्माणमा र भविष्यको बारेमा विशेष चासो राखेर नगरपालिकामा सबैको मन जितेर उनी बिदा लिन लागेका हुन् । करिब १३ महिना नियमति प्रमुख बनेर बिदा हुन लागेका भारतीको बिदाइका लागि आयोजित बिदाई कार्यक्रममा भारतीले बुढानिलकण्ठ नगरपालिकामा आफ्नो जीवनको केही समय खर्चन पाएकोमा खुशी व्यक्त गरे । भारतीले बुढानिलकण्ठ नगरपालिका ठूलो सम्भावना भएको नेपालको महत्वपूर्ण नगरापालिका भएकाले नगर निर्माण तथा व्यवस्थापनमा कुनै दिन आफ्नो सल्लाहको आवश्यक परेमा आफू तयार रहेको बताउँदै आफ्नो कार्यअबधिमा नगरभित्रका राजनीतिक दलहरुले देखाएको सद्भाव र विकासप्रतिको चासोका विशेष प्रशंसा गरे । भारतीले यही स्पिरिटमा राजनीतिक दलहरुले विकासप्रति चासो देखाए भने अबका दिन नगरपालिकाले देखिने खालको प्रगति गर्ने बताए । कार्यक्रममा बिभिन्न राजनीतिक दलहरुले भारतीको कार्यकालमा नगरपालिकाले उल्लेख्य प्रगति गरेको बताएका थिए । भारतीको बिदाइपछि बुनपाको कार्यलय संचालनका लागि निमित्त कार्यकारी प्रमुखको रूपमा राजु न्यौपानेले पदभार ग्रहण गर्नेछन् ।