अस्ताए संविधान निर्माणका मुख्य अभियन्ता कोइराला

अस्ताए संविधान निर्माणका मुख्य अभियन्ता कोइराला

मदन गौतम/ काठमाडौँ, २७ माघ । छ दशकअघिदेखि संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको सदीक्षा पूरा गर्न प्रमुख भूमिका निर्वाह गर्नुहुने नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला सदाका लागि हामीबाट बिदा हुनुभएको छ ।

12705478_1019296088155571_802123178135859571_n

संविधान निर्माणमा कसैको हार र कसैको जित हैन सबैले जितेको ‘विन विन सिचुयसन’ बनाउन जोड दिनुभएका कोइरालाले सरकार गठन भएको २० महिनामै संबिधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।

चार जना प्रधानमन्त्रीको कार्यकाल सकिँदा पनि संविधान जारी हुन नसकेपछि अघिल्लो संविधानसभा विघटन हुन पुगेको थियो । त्यसपछि गठन भएको दोस्रो संविधानसभामा ठूलो दलको हैसियतले २०७० माघ २७ गते कार्यकारी प्रमुखको जिम्मेवारी बहन गर्नुभएका कोइरालाले संविधानको अन्तरवस्तुमा प्रमुख दलहरूबीच तिक्तता बढेकै बखत उहाँकै पहल र सहजीकरणमा १६ बुँदे सहमतिबाट संविधान जारी गर्न मार्ग प्रशस्त भएको थियो ।

मुलुकको ३७औँ प्रधानमन्त्री तथा गणतन्त्र नेपालको छैटाँै प्रधानमन्त्री बन्नु भएका कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख हुनुभएको थियो । संविधान जारी भएको केही समयपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

12729003_1019296261488887_8112139544824654057_n
लामो समयदेखि अबुर्द रोग विरुद्ध सङ्घर्ष गर्दै आउनुभएका ७६ वर्षीय अविवाहित कोइराला राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित हुनुहुन्थ्यो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको थियो ।

पार्टीको १३औँ महाधिवेशनको तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहनुभएका उहाँलाई पुनः पार्टी सभापतिका प्रत्याशीका रूपमा समेत हेरिएको थियो । पार्टीभित्रका तीन शीर्ष नेतामध्येका प्रमुख कोइरालाको निधनले काँग्रेस पार्टीका साथै सिङ्गो राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको छ ।

त्यागी, निष्ठावान्, उच्च विचारका धनी र सादगी जीवनका प्रतिमूर्ति उहाँ राजनीतिमा निरन्तर सहमति, सहकार्य र मेलमिलापका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने मान्यतामा दृढ हुनुहुन्थ्यो ।

राजनीतिक यात्राका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ पर्नुभएको थियो । पक्राउपछि उहाँलाई दिल्ली कारागारमा राखिएको थियो ।

जेल जीवन र निर्वासनपछि २०३६ सालमा हुन लागेको जनमत सङ्ग्रहका लागि बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किनुभयो । बहुदलको प्रचारमा देश दौडाहामा लाग्नुभएका कोइराला जननायक विश्वेश्वरप्रसाद कोइरालाको निधनपछि पार्टीको निर्णयअनुसार युरोपेली मुलुक प्रस्थान गर्नुभएको थियो ।

युरोपबाट स्वदेश फर्केपछि पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिनुभएका सभापति कोइरालाले २०४६ सालको जनआन्दोलन र विसं २०६२÷६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०४८ र २०५८ को संसदीय निर्वाचनमा उहाँ बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा बाँकेबाट पराजित हुनुभएका उहाँ २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बाँके र चितवनबाट सभासद्मा विजयी हुनुभयो ।

बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी हुनुभएको थियो । विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो । विसं २०४२ को सत्याग्रहदेखि २०४६ र २०६२÷६३ को आन्दोलनमा उहाँले सक्रिय सहभागिता जनाउनुभएको थियो ।

दिवङ्गत कोइरालाको योगदानको कदरस्वरुप उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले उहाँको निधनमा शोक मनाउन आज सार्वजनिक बिदा दिनुका साथै तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय ग¥यो । उहाँप्रति नेपाली जनताले पनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । रासस

तपाइँको प्रतिक्रिया ।