सभापतिमा पाठकको उम्मेदवारी, गगनलाई गलपासो
कपन अनलाइन÷ अशोकराज पाण्डे ÷ माघ १६, २०७२
कपन अनलाइनका प्रधानसम्पादक केशवराज पाठक नेपाली कांग्रेस बुढानिलकण्ठ नगर सभापतिमा उम्मेदवार बन्ने भएका छन् । नगरपालिका क्षेत्रका स्थानियहरुको समर्थन र सद्भावका कारण पाठकलाई नगर सभापतिमा उठ्न प्रेरित गरेपछि पाठकले आफ्नो उम्मेदवारी दिन लागेका हुन् । पाठक बुढानिलकण्ठ क्षेत्रमा पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएका हुन् ।
नेपाली राजनीतिमा लामो समयदेखि क्रियाशील पाठक कपन अनलाइनका साथै कपन साहित्य समाज, कपन संगीत सरोवरलगायत बिभिन्न संस्थाका संस्थापक हुन् । उनी देशका ३३ जिल्लामा संचालित व्यवसायिक कृषि आयोजनामा पनि प्रत्यक्ष सम्बन्धित छन् । राजधानी एफएमबाट प्रशारण हुने बुढानिलकण्ठ र विकास कार्यक्रमका प्रस्तोता रहेका पाठक बुढानिलकण्ठ नगरपालिकामा चिनिएका व्यक्ति हुन् ।
यसअघि नगर सभापतिमा गणेश कोइराला र राजाराम बुढाथोकीको उम्मेदवारी सार्वजनिक भएको थियो । पाठकको उम्मेदवारी घोषणासँगै क्षेत्र नं. ४ र ५ बिभक्त बुढानिलकण्ठ नगरपालिकाको नेका राजनीतिको समिकरणमा हलचल हुने अनुमान गरिएको छ ।
कोइराला र बुढाथोकीलाई पटक पटक मिलाउनका लागि क्षेत्र नं. ४ का सभासद गगन थापाले प्रयास गरेका थिए । तर उनको प्रयास खेर गएपछि दुई उम्मेदवारले चुनावी प्रतिश्पर्धामा उत्रिएका थिए । अब पाठकको पनि नगर सभापतिमा उम्मेदवारी आएपछि गगनलाई गलपासो हुने भएको छ । गगनको समर्थनमा उम्मेदवार भएका कोइरालालाई पनि पाठकको उम्मेदवारीले टाउको दुखाई भएको छ । महांकाल क्षेत्रबाटै क्षेत्रिय सभापतिमा राजु श्रेष्ठ उम्मेदवार बन्न लागेपछि नगर सभापतिमा महांकालकै कोइरालालाई नगर सभापतिमा उठ्न नदिने दवाब आएपछि गगनकै कारण कोइरालाले उम्मेदवारी दिएका थिए ।
गगनसँग निकट सम्वन्ध भएका पाठकको उम्मेवारीसँगै क्षेत्र नं. ४ को कांग्रेसी बृत्तमा ठुलो जोडघटाउ चल्न थालेको छ । क्षेत्रमा र नगरमा नै मंहाकालको उम्मेदवारलाई समर्थन नगर्ने र बुढाथोकीसँग रुष्ट भएकाहरु सजिलै पाठकको पक्षमा जाने पनि देखिन्छ । पाठक कपन निवासी भएकोले पनि कपनका समर्थकहरु पाठकको पक्षमा छन् । अर्कोतर्फ पाठकको उम्मेदवारीसँगै बुथ प्रतिनिधीमा निर्वाचित बुढाथोकी तीन जना उम्मेदवार भएपछि अफ्ठयारोमा परेका छन् । उनी उम्मेदवारी फिर्ता लिने मुडमा पुगेको समेत बताइन्छ । राजु श्रेष्ठको समर्थनमा उम्मेदवारी दिएका बुढाथोकीले पाठकलाई समर्थन जनाउने भए बुढाथोकीले सजिलै नगर सभापतिको उम्मेदवारबाट फिर्ता हुने कांग्रेस बृत्तले जनाएको छ । पाठकको उपस्थितीले नगर सभापतिको निर्वाचन झन जटिल बन्दै गएको छ ।
यसैबीच नगर सचिव पदमा बद्रि भट्टराई र मनोज सिग्देल तथा कोषाध्यक्ष पदमा नवराज खनालले प्रत्यक्ष दावेदारी गरेका छन् । यसै गरि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १०मा इकाई सभापति सर्वासम्दत् चयन भएका गोकुल बरुवालपनि इकाई सभापति छोडेर महादिवेशन प्रतिनिधिमा उमेद्वारी दिने बताएका छन् ।