अभिभावक बन्न खोज्दै रामकृष्ण केसी

अभिभावक बन्न खोज्दै रामकृष्ण केसी

ttt1
कपन अनलाइन/ माघ १०, २०७२
माघ महिनाको बादलु आकाशबाट खासै पारिलो घाम आउन सकेको छैन । चिसो निकै बढेको छ राजधानीमा । यो चिसोमा तातोको खोजी जो कोहीलाई हुने गर्दछ । कपन मिलनचोकस्थित रिता बुढाथोकीको मिठो स्वादको मम खान पाउने होटेल अघि पारिलो लाग्न नसकेको घाम तापेर बसिरहेका थिए कपनका पूराना कांग्रेसी नेता रामकृष्ण केसी । महाधिवेशनको चटारोमा केसी कसरी घाम तापेर बस्न सकेका होलान् धेरैलाई चासो लाग्न सक्ने गरी उनी पार तापिरहेका थिए । उनको बुढ्यौली लागिसकेको अनुहारमा एक किसिमको तेज देखिन्थ्यो । तत्कालिन कपन गाविस इकाइ सभापतिको रुपमा २ कार्यकाल बिताएका केसी नेका जिल्ला कमिटि सदस्यसमेत बनेका व्यक्ति हुन् ।

नेपाली कांग्रेसभित्र आफूलाई चाक्सीबारी पक्षीय(प्रकाशमान सिंह निकट) भनेर चिनाउन रुचाउने रामकृष्ण केसी चोकचोकमा भेटिएका जोकोहीसँग आफू प्रकाशमानको मान्छे हुँ भनिहाल्छन् । बेलाबेला चाक्सीबारी गैराख्छन् यसो भन्दा आफू गगन थापा बिरोधी चाहिँ हैन नि उनी भनिहाल्छन् । यद्यपि उनी गगन थापाको निकट व्यक्ति भने मानिदैन । अधिवेशनको मुखमा उनी कसरी यति ढुक्क घाम तापेर बसे त । जीतहारमा उनको चासो नभएको हो त भन्ने लाग्न सक्छ । १२ औँ महाधिवेशनमा उनको घरमा दिनको दुई पटक साना ठूला मिटिङ हुने गर्थे र पनि उनी १२ औँ महाधिवेशनमा बुथमा पराजित भए ।

खास कुरोचाहिँ यस्तो छ, कपन गाविसलाई बुनपाको ५ वटा वडा बनाइसकेपछि रामकृष्ण केसी वडा नं. १३ को नेता बन्न पुगे । यो वडामा नेपाली कांग्रेसका २२ जनामात्र कृयाशिल सदस्य छन् । तीमध्ये अधिकांश केसीका आफन्त नै छन् । इकाई तथा बुथ दुवैमा सर्वसम्मत हुने पक्का छ १३ नं वडामा । अझ बुथमा जाने एक सदस्य त निधो हुन सम्म सकेको छैन । एकजना मात्र महिला क्रियाशिल सदस्य रहेको यस वडामा शर्मिला केसी सर्वसम्मत महिला बुथ सदस्य बन्ने पक्का भैसक्यो । अब एकजना बुथ सदस्य को बनाउने बारे १३ गतेभित्र टुंगो लगाउँछु उनले थपे । आफ्नो वडामा सर्वसम्मत हुने सय प्रतिशत कन्फर्म भैसके पछि अरु वडामा आफ्ना निकटवर्ती वा राम्रा मानिस ल्याउन प्रयास गर्न केही गर्न सक्छु भनेर हिँडेको उनले स्पष्ट पारे ।

रामकृष्ण केसी विशेष गरेर वडा नं. १२ मा जसरी पनि इकाई तथा बुथमा सर्वसम्मत बनाउन हिँडेका रहेछन् । संभावित उम्मेदवारहरुलाई भेट्दै उनीहरुबीच कसरी सर्वसम्मत गर्न सकिने बारे छलफल गर्दै हिँड्दै गर्दा बुथमा महिला सदस्यको उम्मेदवार रिता बुढाथोकीकोमा पुगेका रहेछन् । सर्वसम्मत बनाउने तपाइँको रोडम्याप के हो त ? यो चाहिँ उनले खुलाउन चाहेनन् । उनले केही दिनमै आफूले गरेको प्रयास देखिने बताए । हाल क्षेत्र नं. ४ का क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठसँगका अत्यन्त निकट मित्र पनि मानिने रामकृष्ण केसीले वडा १२ र १४ मा सर्वसम्मत गराउने विषयमा आफूले विशेष भूमिका खेलेर अभिभावक बन्न चाहेको बताए ।

तपाइँको प्रतिक्रिया ।