दल र सबैको प्रयासले झापा शान्त रहेको प्रशासनको निचोड
द्रपुर, २८ पुस । झापाको प्रशासन तथा सुरक्षा निकायका प्रमुखले राजनीतिक दल र अन्य सबै क्षेत्रको प्रयासबाट विषम परिस्थितिमा पनि जिल्लामा शान्ति कायम गर्न सकिएकामा खुसी व्यक्त गरेका छन् ।
प्रशासन तथा प्रहरीका प्रमुख आबद्ध रहेको द्वन्द्व पहिचान तथा विश्लेषण समितिको सोमबार जिल्ला प्रशासनमा भएको छलफलमा सहभागीले त्यस्तो धारणा राखेका हुन् ।
संवाद समूहको सचिवालयको संयोजनमा भएको छलफलमा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले झापामा शान्ति सुरक्षा कायम राख्न सबैले आ–आफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भूमिगत सङ्घ सङ्गठन तथा अन्य क्षेत्रबाट शान्ति सुरक्षामा पर्न सक्ने असरबारे प्रहरी प्रशासन चनाखो रहेको भन्दै थप सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक केदार रिजाल, प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक शान्तिराम कार्की, सहसेनानी नवीन श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कृष्ण खनाल, प्रशासकीय अधिकृत यज्ञप्रसाद आचार्यले आ–आफ्नो विभागीय क्षेत्रको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
जिल्लामा हाल नयाँ यातायात व्यवसायीका कारण उत्पन्न हुने समस्या, केरखा, झिलझिले क्षेत्रमा सुँगुर र छाडा चौपायाले बढाउने दुर्घटना, वन तथा सार्वजनिकस्थलमा प्रतिस्पर्धाका रुपमा बढ्दो समाधिस्थलमा निर्मित कङ्क्रिट चिहान, खुला सीमा र साना तथा घरेलु हतियारको ओसारपसार, कालोबजारी, प्राकृतिक स्रोत, हात्तीको समस्याजस्ता विषयमा छलफल गरिएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले जानकारी दिनुभयो । रासस