महानगरको अगुवाइमा मासु पसलको अनुगमन ः अधिकांश मानस्वास्थ्यमैत्री छैन
काठमाडौँ, २० पुस । काठमाडौँ महानगरपालिकाले केही मासु पसलमा गरेको अनुगमनमा अधिकांश पसल मानवस्वास्थ्य मैत्री नभेटिएको ठहर गरेको छ ।
आज कामपाले बानेश्वर र अनामनगरको केही मासु पसलमा अनुगमन गरेको थियो । सोही क्रममा नियमित रुपमा अनुगमन गर्दासमेत सुधारमा कुनै किसिमको गुणात्मक परिणाम नदेखिएको महानगरपालिकाअन्तर्गत जनस्वाश्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
व्यावसायिक र महानगरीय मापदण्डको आधारभूत पक्षका रुपमा रहेको विषयको व्यापारीले ख्याल नगरेसम्म स्वास्थ्यकर मासु उत्पादन हुन नसक्ने बताउँदै उत्पादक र व्यापारी बीचको छलछामले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने हुँदा यसो नगर्न प्रमुख श्रष्ठले व्यापारीलाई आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा पक्षी बध गर्ने र मासु बेच्ने स्थान एउटै, मासु छोप्नका लागि जालीको प्रयोग नगर्नु, मासु काट्ने हतियार खिया लागेको हुनु, बेच्ने व्यक्तिले एप्रोनको प्रयोग नगर्नुजस्ता समस्या भेटिएको कामपाले बताएको छ ।
अनुगमनकै क्रममा स्वास्थ्यकर्मीले एक दिनमा बढीमा १५० ग्रामसम्म मासु खान राम्रो हुने भन्दै जुनसुकै खाद्य वस्तुको प्रयोग गर्दा त्यसमा भएका गुण र प्रयोग गर्ने मानिसको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न जरुरी हुने बताएका थिए । अब हरेक दिन खाद्यवस्तुको अनुगमन गर्ने पनि कामपाले बताएको छ । आज आठवटा मासु पसलमा अनुगमन गरेको थियो ।