अनेरास्ववियुको राष्ट्रिय सम्मेलनका लागि समिति

काठमाडौँ, १३ पुस । नेकपा (एमाले) निकट अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलनका लागि अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लको संयोजकत्वमा विभिन्न समिति गठन गरिएका छन् ।

उपाध्यक्ष दीपक गौतमलाई मूल व्यवस्थापन समिति, अर्का उपाध्यक्ष ऐन महरलाई जनपरिचालन तथा प्रचारप्रसार समिति, महासचिव नविना लामालाई प्रतिनिधि व्यवस्थापन समितिको जिम्मेवारी दिइएको छ ।

सम्मेलन आउँदो माघ २७ देखि २९ गतेसम्म काठमाडौँमा गर्न लागिएको छ । गत असोजमा सम्पन्न हुनुपर्ने सम्मेलन त्यसबेलाको राजनीतिक अन्योलता तथा अस्थिरताका कारण स्थगित भएको थियो ।

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले विद्यार्थीको पहुँचमा गुणस्तरीय शिक्षालाई मुद्दा बनाइने जानकारी दिँदै यसपटक समयमै सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरी सङ्गठनका नेतालाई जिम्मेवारी प्रदान गरिएको बताउनुभयो ।

सम्मेलनमा देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।