मंसिर १७ गते कपनमा निःशुल्क मृगौला तथा पिशाव परीक्षण शिविर
०७२ मसिर १३\कपन अनलाइन
खानपान तथा धूलो धुँवा एवम् अस्वस्थ्य पानीका कारण पछिल्लो दशक नेपालको सहरी क्षेत्रमा मृगौलाका रोगीहरुको संख्या उल्लेख्य बृद्धि भएको छ । जनतामा मृगौला तथा मृगौलासम्बन्धि रोगको बारेमा खासै जानकारी नभएको अवस्थामा निःशुल्क परीक्षण सेवा नै यसको प्रचारप्रसारको महत्वपूर्ण स्वरुप बन्ने गरेको छ । राजधानी तथा देशका बिभिन्न क्षेत्रमा यस्ता निःशुल्क परीक्षण सेवा आयोजना हुँदै आएका समाचारहरु बेलाबेला सुनिन आएको छ । यसरी निःशुल्क रुपमा परीक्षण गरिने सेवाका कारण जनसामान्यमा यस सम्बन्धि चासो तथा जानकारी बढेको यस क्षेत्रमा संलग्नहरुको भनाई रहेको छ ।
राजधानीको अत्यन्त अव्यवस्थित तथा घना बस्तिले ढाकेको बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १२, १३ र १४ अन्तर्गत पर्ने कपनमा सर्वसाधारणलाई लाभान्वित होस् भन्ने हेतुले आगामी मंसिर १७ गते शनिवार निःशुल्क मृगौला एवम् पिशाव परीक्षण शिविर आयोजना गरिन लागिएको छ । यस भेकमा हुन लागेको बृहत स्वरुपको पहिलो निःशुल्क मृगौला परीक्षण शिविर नवदुर्गा स्वास्थ्य संस्थाको पहलमा हुन लागेको हो । कपनका स्थानीय स्वास्थ्यकर्मी प्रदिप भट्टराईको विशेष सक्रियतामा नेपाल किड्नी फाउण्डेशनले यस शिविरलाई संचालन गर्ने नवदूर्गा स्वास्थ संस्थाका कोषाध्यक्ष राजु थापाले कपन अनलाइनलाई बताए । मंसिर १७ गते शनिवार वडा नं. १४ मा रहेको नवदूर्गा स्वास्थ्य संस्थाको भवनमा संचालन हुने यस शिविरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निःशुल्क सेवा दिइने कोषाध्यक्ष थापाले बताए । शिविरमा मृगौला जाँचका साथमा पिशाव र रगत चेक पनि गरिनेछ भने होमोडाइलासिसका बारेमा परामर्श दिइनेछ ।