अन्तर्राष्ट्रिय साक्षरता दिवसमा ज्येष्ठ नागरिकलाई त्रि–ज्योति माविद्वारा शैक्षिक सामग्री हस्तान्तरण
कपन अनलाइन
काठमाडौं भदौ २७।
काठमाडौं भदौ २७।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा त्रि–ज्योति माध्यमिक विद्यालयले ज्येष्ठ नागरिकको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
बुढानीलकण्ठ नगरपालिका–१२, कपनस्थित दुर्गामन्दिर परिसरमा ज्येष्ठ नागरिक जागरण नेपालको आयोजनामा सञ्चालित कार्यक्रममा ५० जना ज्येष्ठ नागरिक बा–आमालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। ज्येष्ठ नागरिक जागरण नेपालका अध्यक्ष बाबुराम फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्षले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
कार्यक्रममा त्रि–ज्योति माध्यमिक विद्यालयका प्राचार्य गणेशकुमार मिश्र र विद्यालय संयोजक प्रवीण श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी रहेका थिए ।
त्रि–ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा विद्यालयको नेपाली विभाग प्रमुख बिमला कोइराला चालिसेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य गणेशकुमार मिश्रले ज्येष्ठ नागरिकको शिक्षाका लागि त्रि–ज्योतिका बालबालिकामार्फत गरिएको सहयोग अनुकरणीय रहेको बताए ।
उनले ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति तथा अनुभवका धरोहर भएको उल्लेख गर्दै उहाँहरूको सम्मान, संरक्षण र शैक्षिक विकासमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
साथै, ज्येष्ठ नागरिकहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउन त्रि–ज्योति परिवार आगामी दिनमा पनि सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा ५० जना ज्येष्ठ नागरिक बा–आमालाई झोला, कापी, पेन्सिललगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो। विद्यार्थीहरूमा ज्येष्ठ नागरिकप्रति सम्मान, सामाजिक उत्तरदायित्व र सेवाभावको विकास गराउने उद्देश्यले गरिएको यस कार्यक्रमले पुस्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी शिक्षाबाट वञ्चित वा निरन्तर सिकाइको अवसर खोजिरहेका ज्येष्ठ नागरिकसम्म शिक्षाको पहुँच पुर्याउने प्रयासका रूपमा त्रि–ज्योति माध्यमिक विद्यालयको यो पहललाई लिन सकिन्छ।
तपाइँको प्रतिक्रिया ।
