साखुल्लेहरू : श्यामप्रसाद श्रेष्ठ (लघुकथा)

साखुल्लेहरू : श्यामप्रसाद श्रेष्ठ (लघुकथा)

कपन अनलाइन
काठमाडौं भदौ २७।

“म बर्बाद भएँ ! करोडौँको घर, धनसम्पत्ति सबै बगायो । यो सबै त्यसैको कारणले भएको हो !” हर्षमान साहुले प्रलयकारी बाढीतर्फ हेर्दै छातीमा हातले ठोक्दै विलाप गरे ।
उनलाई त्यसरी रोइरहेको देखेर छिमेकी अमिरले सम्झाउँदै भन्यो, “यसरी छाती पिटेर नरोऊ हर्षमान ! तिम्रो मात्र होइन, सिङ्गो गाउँ नै बाढीले बगाएको छ । तिमीले भने जस्तै यो त क्रूर बाढीको परिणाम हो ।”
“होइन अमिर, मैले बाढीलाई दोष दिएको होइन ।”
“अनि कसलाई दोष लगाएका हौ त ? नेताहरूलाई हो ?”
“होइन।”
“सरकारलाई ?”
“त्यो पनि होइन ।”
“अनि को हो त त्यो दोषी?”
हर्षमानले आँसु पुछ्दै वरिपरि जम्मा भएका मानिसहरूबाट नजर शुन्य आकाशतिर फर्किदैं भने, “ती साखुल्लेहरू हुन्, जसको कारण यस्ता प्रलयहरू निम्तिरहेका छन् ।”
भीडमा कौतूहल छायो । हर्षमानले गम्भीर स्वरमा भने, “हामीले वातावरण संरक्षण जस्तो पवित्र उद्देष्य लिएर वन जोगायौँ, हामीले वन संरक्षण खातिर गाईवस्तु पाल्न छोड्यौँ, दाउरा छोडेर महँगो ग्यास किन्न थाल्यौँ, आफ्नै वनको काठ प्रयोग गर्न छोडेर विदेशबाट करौंडो,अर्वौंको काठ र फर्निचर आयात ग¥यौँ । शव जलाउन दाउरा नपुगेर आधा शव बगायौ ।”
भीड शान्त भयो ।
अमिरले फेरि भने, “वन संरक्षण गरेर त हामीले राम्रै काम ग¥यौ होइन र ?”
हर्षमान मुस्कुराउँदै बोले, “हो हामीले त राम्रै ग¥यौं,तर…….”
उनले बाढीले बगाएको गाउँतिर हेर्दै भने,
“तर ती साखुल्लेहरू भने अझ धनी र शक्तिशाली बन्न तिनीहरूले नै वातावरणीय सम्झौता उल्लङ्घन गर्दै विकासको नाममा कार्वन उत्सर्जनन गरेर पृथ्वीलाई तताइरहे जलाइरहे । आज विश्वव्यापि जलवायु परिवत्र्तनको मुख्य कारण उनीहरू नै हुन । यसैले यो प्रलयकारी बाढिबाट भएको सम्पुर्ण क्षतिको जिम्मेवारी उनीहरूले नै लिनुपर्छ ।”
अमिरले अझ प्रष्ट कुरा नबुझेको कारण सोधे,
“ए हर्षमान ! उनीहरू भनेर कसलाई भन्न खोजेको हो,स्पष्ट भन न !”
नमिठो आवाजमा सुसाइरहेको बाढीको गर्जनबीच हर्षमानले मधुर आवाजमा भने,“उनीहरू हुन बिश्वका धनी तथा शक्तिशाली राष्ट्रहरू !”

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।