कुवा : भूपाल अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाडौं भदौ २७।
“साथीहरू हो, आज घुम्न जाऊँ है ।” कुवाभित्र भएको एउटा भ्यागुतोले प्रस्ताव राख्यो ।
अर्कोले भन्यो, “हुन्छ जाऊँ न त !”
यस्तो प्रस्तावमा पाँचैवटा भ्यागुताहरू बुरुक्क बुरुक्क उफ्रिन थाले । माथि पुग्दै तल खस्दै गर्न थाले । निकै बेरको कोसिस पछि कुवादेखि बाहिर निस्किए । तिनीहरू चिल, गिद्ध तथा सर्प जस्ता सिकारीहरूबाट बच्दै खुल्ला आकाश, ठुल ठुला नदीहरू, समुद्रहरू र नयाँ नयाँ दृश्यहरू रोमाञ्चित भएर हेर्दै थिए । अचानक कुवाबाट घुम्न जाने प्रस्ताव राख्ने भ्यागुतोले भन्यो, “मेरै कारण हामीले यो स्वर्ग जस्तो स्थानमा आउन पायौँ । तिमीहरू सबैले मलाई नै ठुलो मान्नुपर्छ बुझ्यौ ?”
एउटाले भन्यो, “होइन, होइन ! म मान्दिनँ ।”
अरू सबैले पनि समर्थन जनाउँदै भने, “हामी मान्दैनौँ । हामी चाहिँ के मा कम छौ र ? उप्रिने काम त हामीले पनि गरेकै हौँ ।”
उनीहरू बिचमा को ठुलो ? भन्ने विषयमा विवाद चल्यो । अन्त्यमा एउटाले उपाय निकाल्यो र भन्यो, “हामीहरूले दौड गरौँ । जसले पहिले त्यही कुवालाई छुनेछ, उही ठुलो हुनेछ ।”
उसको कुरामा सबै सहमत भए । उनीहरूको सबै काम कुरा नियालिरहेको एकजना मान्छेलाई निर्णायक राखे । दौड सुरु भयो । आफू ठुलो बन्ने सोचमा सबै भ्यागुता तिव्र गतिमा दौडिन थाले । कसले पहिले कुवा छुने भनी तँछाडमछाड गर्दै दौडिँदा पाँचैवटा भ्यागुताहरू झ्वाम्म कुवामा खसे ।
निर्णायकले भन्यो, “कुवाको भ्यागुता कुवामै !”
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
