फैसला : सुमन कडरिया (लघुकथा)
कपन अनलाइन
काठमाडौं भदौ २७।
जीवनका उकाली ओरालीमा सत्य पछाडि पर्दै गएको थियो । गलत बाटो रोज्नेहरू अगाडि बढिरहेको देखेर अर्जुनको मन अशान्त भयो ।
अनेक प्रश्न बोकेर उनी श्रीकृष्णसामु पुगे र सोधे, “हे कृष्ण ! सत्य किन सधैँ पछाडि धकेलिन्छ ? कर्मको फैसला कहिले हुन्छ ?”
मुस्कुराउँदै श्रीकृष्णले भने, “सत्य ढिलो हिँड्छ, पार्थ ! तर बाटो बिराउँदैन ।”
अर्जुनले फेरि सोधे, “तर गलतले प्रायः किन सफलता पाउँछ ?”
कृष्णले शान्त स्वरमा भने, “उनीहरूले समयलाई जितेका होइनन्, पार्थ ! केही समयलाई मात्र छलिरहेका हुन् । समयलाई छल्न सकिएला, तर समयको फैसला छल्न सकिँदैन ।”
केहीबेर मौन रहेका अर्जुनले फेरि जिज्ञासु हुँदै सोधे, “त्यसो भए कर्मको फल कहिले पाइन्छ ?”
कृष्णले पर क्षितिजतिर हेर्दै भने, “कर्मको बीउ रोपेर फल आजै खोज्नु अधैर्य हो । समयलाई आफ्नो कर्म गर्न दिनुपर्छ ।”
अर्जुन अवाक भएको देखेर कृष्णले फेरि भने, फलको आश नगरी कर्म गर पार्थ ! फल फलाउने कि काँढा उमार्ने समयले फैसला गर्नेछ ।”
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
