बाढीपीडितका लागि मञ्जरी सेकेन्डरी स्कुलद्वारा रु. १ लाख १ हजार सहयोग
कपन अनलाइन
काठमाडौं,भाद्र १८ ।
रसुवा जिल्लामा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि बुढानीलकण्ठ–७ स्थित मञ्जरी सेकेन्डरी स्कुलले रु. १ लाख १ हजार २४१ सहयोग गरेको छ।
विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट संकलित उक्त रकम प्याब्सन दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति तथा नागरिकहरू प्रभावित भइरहेका बेला पीडितहरूको उद्धार, राहत तथा मानवीय सहयोगमा योगदान पुर्याउने उद्देश्यले विद्यालय परिवारले उक्त सहयोग गरेको हो।
विद्यालयका प्रधानाध्यापक टिका गौतमले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको बताए।
“राष्ट्र संकटमा परेको यस चुनौतीपूर्ण घडीमा प्रभावित नागरिकहरूको पीडामा मलम लगाउन र मानवीय सहायता पुर्याउन हाम्रो सानो प्रयासले पनि महत्वपूर्ण अर्थ राख्छ,” प्रधानाध्यापक गौतमले भने।
विद्यालयले विपद्का समयमा व्यक्तिगत, संस्थागत तथा सामूहिक रूपमा सहयोगका हातहरू अगाडि बढाउन सबैमा आग्रहसमेत गरेको छ। विपद् प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न संघसंस्था तथा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने विद्यालयको धारणा छ।
मञ्जरी सेकेन्डरी स्कुलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकहरूको सहयोगका लागि गरिएको यो योगदानले अन्य व्यक्ति तथा संस्थालाई समेत मानवीय सेवामा सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
