बङ्गलादेशका दुई विपक्षी नेतालाई झुण्ड्याइने
ढाका, ४ मङ्सिर । बङ्गलादेशका दुईजना विपक्षी नेतालाई केही दिनभित्र झुण्ड्याइने जानकारी त्यहाँका न्यायमन्त्रीले शुक्रबार दिनुभएको छ ।
उहाँकाअनुसार दुई जना वरिष्ठ विपक्षी नेतालाई यसअघि युद्धअपराधसम्बन्धी अदालतले दिएको मृत्युदण्डको सजायसम्बन्धी अपिललाई सर्वाेच्च अदालतले पनि सदर गरिदिएपछि मृत्युदण्ड दिइने भएको हो ।
सर्वाेच्च अदालतले बुधबार दिएको फैसलामा उनीहरुको मृत्युदण्डको सजायलाई सदर गरिदिएको हो । जसका कारण अब उनीहरुलाई झुण्ड्याइने निश्चित् भएको हो ।
नेताहरु अलि अहसन मोहम्मद मुजाहिद र सलाउद्दिन क्वादर चौधरीलाई सन् १९७१ मा तत्कालीन पाकिस्तानमा भएको स्वतन्त्रतासम्बन्धी जनआन्दोलनमा जातिहत्या गरेकोमा उक्त अदालतले दोषी ठहर गरेको थियो ।
बङ्गलादेशका कानुन तथा न्यायमन्त्री अनिसुल हकले ती दुई नेतालाई आगामी केही दिनमा नै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कागजात पुर्याई मृत्युदण्ड दिइने जानकारी शुक्रबार दिनुभएको हो ।
बङ्गलादेशमा सन् १९७१ मा भएको क्रान्तिमा पाकिस्तानी शासक र प्रहरीको पछि लागेर बङ्गाली नागरिकको हत्या गरी युद्धअपराध गरेको भनी युद्धअपराध अदालतको फैसलामा कैयौँ व्यक्तिलाई यसरी मृत्युदण्ड दिइएको छ ।